– अर्जुन तिमिल्सिना

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी २०६० सालमा स्थापना भएको हो। यो कम्पनीले निर्माण गरेको हेवा खोला जलविद्युत आयोजनाको ४.५ मेगावट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ। यो आयोजना संखुवासभा जिल्लामा सञ्चालित रहेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कम्पनीको चुक्तापुँजी २६.७९ करोड रुपैयाँ र रिटेन अन अर्निङमा २ करोड ६४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

कम्पनीको ईपीएस ११.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.८६ रुपैयाँ र प्राइस अर्निङ रेसियो ४०.४९ गुणा रहेको छ। अन्तिम सेयर कारोबार मूल्यअनुसार कम्पनीको प्रतिकित्ता ४७९ रुपैयाँ रहेको छ। 

हालैमात्र यो कम्पनीले विद्युत नियमन आयोगबाट चुक्तापुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको स्वीकृति पाएको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा  सेयरमूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री  हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छन्। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

यो कम्पनीको सेयरमूल्य १३ अगस्ट २०२० मा जम्मा ८४ रुपैयाँमा करोबार भएको देखिन्छ। त्यसैको एक वर्षको अवधिमा बढेर १८ अगस्ट २०२१ मा ७६० रुपैयाँसम्म पुगेको थियो। यो हिसाबले यो कम्पनीको सेयरमूल्य एकै वर्षमा ८ गुणाले बढेको देखिन्छ। कम्पनीको सेयरभाउमा दुई महिनाको अन्तरालमा करेक्सन भएर २६ अक्टोबर २०२१ मा नै ३५० रुपैयाँसम्म आएर एउटा चक्र पूरा गरेको देखिन्छ। हाल बनाउँदै गरेको नयाँ चित्रअन्तर्गत यो कम्पनीले बनाएको इलिअट वेभको रेखा चित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीको वेभ ३ चलेको देखिन्छ जसलाई फिवोनासीमा जोडेर हेर्दा १.६१ प्रतिशतको वृद्धिमा ६८२ रुपैयाँसम्म पुग्ने देखिन्छ भने वेभ ४ बन्दा सामान्य करेक्सन ६२० रुपैयाँसम्म हुन सक्छ। त्यसपछि  वेभ ५ तथा फिवोनासीको २.६१ प्रतिशतको वृद्धि भएर यो कम्पनीको सेयरमूल्य बजारको आगामी बुलमा करिब २ वर्षको समयावधिमा पुनः ९०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ६०३ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ५०६ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ४२२ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवा ३४० रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ।

यो लाइनलाई आधार मान्ने हो भने गत २५ अप्रिलमा  एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस  सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। तर, हिस्टोग्राम पोजेटिभ भए पनि छोटा–छोटा भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्य करेक्सन हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो ९बीचको० सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।

यस औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर इन्भर्टेड ह्याम्मर बनेको छ र घट्न थालेको छ (हेर्नुहोस् कालो एरो)। यो करेक्सन कम्तीमा मध्य ब्यान्डसम्म  पनि आउन सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ।

यो कम्पनीको हालको आरएसआइ घट्दो क्रममा ५८ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २१ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ६८ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा बुलिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ४५२
  • प्रतिरोध २– ५०६
  • प्रतिरोध ३– ५४८

पिभट प्वइन्ट :  ४१०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ३५६
  • सपोर्ट २– ३१४
  • सपोर्ट ३– २६०

निष्कर्ष

एकै वर्षमा ८ गुणासम्म बढेको बरुण हाइड्रोपावरको सेयरमूल्य अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४७९ रुपैयाँ रहेको छ। दुई वर्ष पहिलेबाट यो कम्पनीको सेयरलाई नियाल्ने हो भने निकै उतारचढाव भएको बोलिंगर ब्यान्ड तथा यो कम्पनीको सेयरमूल्यबाट देखिन्छ। अल्पकालीन औजारमार्फत हेर्दा कम्पनीको सेयरमूल्यमा केही करेक्सन हुन सक्ने आरएसआई तथा म्यक्डीमार्फत देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका हैनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै  भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।