काठमाण्डौ । नेपाल ल्युब आयल, स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ ।

यी तीनैवटा संस्थाले भोलि (पुस १० गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । यसको मतलब आज (पुस ९ गते) सम्म कायम सेयरधनीहरुमात्र यी संस्थाका साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

नेपाल ल्युब आयलले सेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको यही पुस २३ गते हुने २८ औँ वार्षिक साधारणसभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।

त्यस्तै स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेकोछ ।

संस्थाले चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनस सेयर वितरण गर्दा पर्ने कर प्रयोजनाका लागि संस्थाले चुक्तापुँजीको ०.६८ प्रतिशत अर्थात ५ लाख ७६ हजार ६४२ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ ।

प्रस्तावित लाभांश संस्थाको यही पुस २७ गते हुने तेस्रो वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ ।

यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा यही पुस २३ गते गर्दैछ । सभाले गत वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभामा छलफल भई अनुमोदन गर्नेछ ।