काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ हाइड्रो कम्पनीको हकप्रद आवेदन पाइपलाइनबाट हटाएको छ।

गत आइतबारसम्म बोर्डको पाइपलाइनमा रहेका हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), बरुण हाइड्रोपावर र ङादी ग्रुप पावर लिमिटेडको हकप्रद आवेदन बोर्डले हटाएको हो। हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन पेस गरेको लामो समयसम्म आवश्यक कागजपत्र तथा विवरण पेस नगरेका हकप्रदको पाइपलाइनबाट ती कम्पनीको नाम हटाइएको बोर्डका सहायक प्रवक्ता रुपेश केसीले जानकारी दिए। ‘ती कम्पनीका हकप्रद लामो समयसम्म पाइपलाइनमा रहँदा आमलगानीकर्ताहरु कहिले निष्कासन होला भन्ने अन्यौलता सिर्जना भयो’, उनले भने, ‘त्यही भएर हटाएका हौँ। रद्द नै भने गरिएको होइन।’

एचआईडीसीएलले कुल ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको थियो। त्यस्तै बरुणले २५ लाख ५१ हजार ५०० रुपैयाँ र ङादीले १६ लाख ६ हजार ६६४.४० कित्ता हकप्रद निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो। तर यी कम्पनीले आवेदन पेस गरेको १ वर्षभन्दा बढी समयदेखि सार्वजनिक निष्कासनका लागि आवश्यक कागजपत्र तथा विवरणहरु पेस नगरेको बोर्डले जनाएको छ। आवश्यक डकुमेन्ट पेस गरेमा यी कम्पनीको हकप्रद निष्कासनको प्रक्रिया पुनः सुरु हुने केसीले प्रस्ट पारे। 

हकप्रदमा मात्र नभई आईपीओ र एफपीओलगायत अन्य सार्वजनिक निष्कासमा पनि यही प्रक्रिया अपनाइने पनि केसीले प्रस्ट पारे। लामो समयसम्म आवश्यक कागजपत्र तथा विवरण नपठाउने कम्पनीका आईपीओ, एफपीओलगायत पनि पाइपलाइनबाट हटाइने उनले जानकारी दिए। 

अहिले हकप्रदको पाइपलाइनमा कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाममा मात्र रहेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकले कुल ३० लाख कित्ता र अरुण भ्यालीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद निष्कासनको अनुमति मागेका छन्।