काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आज असार २७ गतेबाट १२ औँ वर्षमा प्रवेश गरेको छ। 

एचआईडीसीएल २०६८ असार २७ गते जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको नामबाट स्थापना भएका थियो। २०७५ सालमा यो कम्पनीको नाम परिवर्तन गरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) कायम गरिएको थियो। 

यो कम्पनी नेपालको जलविद्युत क्षेत्रको विकासका लागि आवश्यक पर्ने ठूलो परिमाणको पुँजी व्यवस्थापन गर्न दीर्घकालीन पप्रकृतिका पुँजी परिचालन गर्ने तथा त्यस्ता वित्तीय स्रोतलाई आर्थिक तथा प्राविधि रुपले सम्भाव्य जलविद्युत आयोजनामा सेयर वा अणका रुपमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको हो।

नेपाल राष्ट्र बैंकले यो कम्पनीलाई वित्तीय संस्थाका रुपमा तोकेको छ। राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यो कम्पनीलाई ऋण लगानी गर्ने स्वीकृति पनि प्रदान गरिएको छ। 

हालसम्म यो कम्पनीले १३ वटा जलविद्युत आयोजनामा  १५ र्ब ७३ करोड रुपैयाँ कर्जा लगानी प्रतिबद्धता गरेको छ। ती प्रतिबद्धतामध्ये हालसम्म ६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरिसकेको छ। 

कम्पनीले १२ वटा जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिब ९ अर्ब लगानी प्रतिबद्धता भई हालसम्म २ अर्ब ६८ करोड सेयर लगानी प्रवाह गरिसकेको छ। 

नेपाल विद्युत प्राधिकरणबाट अघि बढाइएका अपर अरुण (१०६२ मेगावाट), चैनपुर सेती (२१० मेगावाट)लगायतका विद्युत उत्पादन कम्पनीबाट अघि बढाइएका ठूला आयोजनाहरुको वित्तीय व्यवस्थापनमा कम्पनीको नेतृत्वमा गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ। विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग वित्तीय स्रोत परिचालन र जलविद्युत आयोजनाको लगानीमा सहकार्य गर्ने सम्बन्धमा छलफल अघि बढाइएको कम्पनीले जनाएको छ। 

सहायक कम्पनीहरुमाफृत अघि बढाइएका आयोजनाहरुको पूर्वतयारीका अधिकांश कार्यहरु सम्पन्न भइसकेको पनि कम्पनीले स्पष्ष्ट पारेको छ। 

यस्ता छन् कम्पनीको दीर्घकालीन लक्ष्य

आगामी १० वर्षको दीर्घकालीन लक्ष्यबमोजिम कम्पनीले कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत सेयर पुँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना तयार गर्नेछ। 

करिब १० हजार मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरुमा १५० अर्बबराबरको लगानीमा कम्पनीको संलगन रहने लक्ष्य राखिएको छ। 

कम्पनीको पुँजी कोषमा न्यूनतम तीनगुणा लचकता कायम गर्ने गरी सेयर पुँजीबापत ४० अर्ब र अन्य वित्तीय उपकरणका माध्यमबाट १२० अर्बसहित कुल १६० अर्ब वित्तीय स्रोतको परिचालन गर्ने लक्ष्य पनि कम्पनीले राखेको छ। 

परिचालन भएको वित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरुमा लगानी गर्ने र कम्पनीका सेयरधनीहरुलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने लक्ष्य कम्पनीले राखेको छ।