काठमाण्डौ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा सहभागी भएको खुलासा भएको छ।

कपिलवस्तुका विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनी गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालय स्रोत बताउँछ। 

मन्त्रालयको कोरोना नियन्त्रणसम्बन्धी सम्पूर्ण गतिविधि एचईओसीबाटै हुने गर्छ। मन्त्रालयको वेबसाइटमा हुने तथ्यांक अपडेट गर्ने कर्मचारी र डब्लूएचओको प्रतिनिधिसमेत त्यहाँ कार्यरत छन्।

अब उक्त बैठकमा सहभागी भएका र उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैको परीक्षण गर्नुपर्ने अवस्था आएको बैठकमै सहभागी अर्का एक चिकित्सकले बताए। 

बैठकमा मन्त्रालयका उच्च अधिकारीहरुसमेत सहभागी रहेका बताइएको छ।