-भक्तराज रसाइली 
काठमाण्डौ । हिमालयन डिष्टीलरीको वित्तीय विवरण सार्वजनिक हुनु डेढ साताअघिदेखि बजारमा चलखेल भएको छ ।

हिमालन डिष्टीलरीकोे वित्तीय विवरण सार्वजनिक हुनुअगावै नाफा बढ्ने भित्री सूचना बजारमा लिक भई चलखेल भएको हो ।

यहीकारण चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुनुभन्दा एकहप्ताअघिदेखि हिमालयन डिष्टीलरीको कम्पनीको सेयरमूल्यमा रकेटको गतिमा दौडियो ।

नेप्सेबाट प्राप्त तथ्याङ्कका अनुसार हिमालन डिष्टीलरीको सेयर कात्तिक १९ गतेसम्म प्रतिकित्ता १८०० हाराहारीमा किनबेच भइरहेकोमा त्यसको भोलिपल्टबाट सेयरमूल्य बिनाआधार रकेटको गतिमा बढेको देखिन्छ । कम्पनीको सेयरमूल्य गत बिहीबारसम्म पनि निरन्तर बढिरह्यो । गत शुक्रबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणपछि आज खुलेको बजारमा सर्किट लागी मूल्य बढ्नु स्वभाविक छ, तर वित्तीय विवरण सार्वजनिक हुनुअगावै कम्पनीका भित्री सूचनाका आधारमा सेयरमूल्य बढ्नुलाई खुलेआम इन्साइडर ट्रेडिङको रुपमा बुझ्नुपर्ने जानकारहरु बताउँछन् । 

हिमालन डिष्टीलरीको नाफा बढेको वित्तीय विवरण सार्वजनिक भएपछि कम्पनीको सेयरमूल्य बढ्नु स्वभाविक हो र छ पनि । यद्यपि कम्पनीको सेयरमूल्य बारे कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण आउनुअघि नै बजारमा सो कम्पनीको मूल्य रकेटको गतिमा उड्यो । यसको मतलब कम्पनीले गरेको कार्यसम्पादन झल्किने वित्तीय विवरण बजारका केही टाठाबाठाका हातमा परेपछि सो कम्पनीको सेयरमूल्य एक साताअघिदेखि नै बढाइएको देखिएको छ, जसलाई इन्साइडर ट्रेडिङ भनिन्छ ।

पछिल्लो समय चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आइसीएफसी फाइनान्स र कामना सेवाको वित्तीय विवरण सार्वजनिक हुनुअगावै बजारमा सहजै उपलब्ध भएको थियो । कम्पनीका भित्री सूचनाहरुमा पहुँच पुर्याई उक्त कम्पनीको सेयरमूल्यमा चलखेल गर्ने र इन्साइडर ट्रेडिङले थप मलजल पाएको छ ।

कुनै पनि कम्पनीको सेयरमूल्य कम्पनीले गर्ने गतिविधिहरुलाई झल्काउने वित्तीय विवरण नै हुन् तर पछिल्लो समय कम्पनीका वित्तीय विवरण सार्वजनिक हुनुअगावै बजारमा यत्रतत्र लिक हुनु चाहिँ इन्साइडर ट्रेडिङ मानिन्छ । कुनै कम्पनीको सेयरमूल्य अस्वभाविक तथा बिनाआधार बढिरहँदा नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले समेत यस विषयप्रति गम्भीर नबन्दा बजार थप अपारदर्शी भइरहेको जानकारहरु बताउँछन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको स्पष्ट व्यवस्था गरेको छ । ऐनको परिच्छेद ९ को दफा ९१ मा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख छ । सूचीकृत कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारीले धितोपत्रको मूल्यमा असर गर्छ ।

धितोपत्र सम्बन्धी ऐन,२०६३ को परिच्छेद ९ को दफा १०१ मा दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहर गरेमा बिगोबमोजिम जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

नेपाल धितोपत्र बोर्ड मात्रै एउटा यस्तो सरकारी नियमनकारी निकाय हो, जसले आफैंले अनुसन्धान गरी कसुरदारलाई सजाय वा दण्डित गर्ने अधिकार छ । धितोपत्र सम्बन्धी ऐन,२०६३ को परिच्छेद ९ को दफा १०१ का विभिन्न ७ उपदफा बमोजिम इन्साइडर ट्रेडिङमा संलग्नलाई दण्ड सजाय गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ ।

हिमालयन डिष्टीलरीको भित्री कारोबार भएको विषयमा बोर्डले अध्ययन सुरु गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

यसअघि पनि यसै कम्पनीको विषयमा मिडियाबाट आएपछि बोर्डले थप अध्ययन गरी दोषीउपर कारबाहीको चरणमा लगेको बताउँदै प्रवक्ता गिरीले भित्री कारोबार हुनसक्ने आधारका विषयमा बोर्डले गम्भीरतापूर्वक अध्ययन गर्ने दाबीसमेत गरे ।

हिमालन डिष्टीलरीकोे गत साता शुक्रबार मात्र कम्पनीको नाफा ९२.१७ प्रतिशत बढेको र इपीएस १२९.६३ रुपैयाँ कायम भएको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।