काठमाण्डौ । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने भएको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।

बैठकले जैविक विविधता एवम् प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँच औंले लगायतका अन्य जडीबुटी तथा रुख प्रजातिहरूको स.कलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउनेसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पदमा सरुवा गरेको छ भने सहसचिव डा.हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ।