काठमाण्डौ । दोस्रो बजारमा महँगो मूल्यमा सेयर खरिदबिक्री हुने एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ४७ करोड ५५ लाख रुपैयाँबराबरको आईपीओ यही असार १० गतेबाट बिक्री खुला हुने भएको छ। यो माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्मकै ठूलो आईपीओ निष्कासन हुन लागेको हो। 

करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृति पाएसँगै एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले रु. १०० अंकित ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ। आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ। 

यो वित्तीय संस्थाको दुई महिनाअघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासन गरी सर्वसाधारणबाट पूँजी जुटाउने निर्णय गरेको थियो। 

यो कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हुनेछ। 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।