काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा समस्या आउँदा आज एकघण्टाभन्दा बढी समय लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भए । आज फेरि टिएमएसमा के समस्या भएको थियो त ?

नेप्सेस्थित स्रोतकाअनुसार एनआइसी एशिया लघुवित्तको कारोबारका कारण आज टिएमएसमा समस्या आएको हो । 

एनआइसी एशिया लघुवित्तको सेयरमा एउटै मूल्यमा ३० हजारभन्दा बढी अर्डर एकैपटक आएपछि टिएमएसमा समस्या आएको दाबी गरिएको छ । 

एनआइसी एशिया लघुवित्तको सेयरमा रु. ७९५ रुपैयाँकै दरमा ३० हजारवटा अर्डर एकैपटक आएपछि त्यसले सिस्टममा ट्राफिक बनाएर यो समस्या आएको हो । नेप्सेको प्राविधिक शाखाका एक अधिकारीले भने–‘सिस्टमको भेण्डर कम्पनी वाइकोले एकैपटक एउटै मूल्यमा आएको ३० हजारवटा अर्डरको क्यूलाई क्लियर गर्न समय लागेका कारण यस्तो समस्या भएको हो ।’ 

वाइकोको टिमले प्रति १० मिनेट ५ हजार अर्डरलाई क्लिन गर्दै समस्या समाधान गरेको थियो । 

यसअघि निफ्राको सेयर कारोबारका क्रममा पनि टिएमएसमा यस्तै समस्या आएको थियो । आइपीओपछि दोश्रो बजारमा कारोबार हुने कम्पनीको हकमा यस्ता समस्या आउने ठहर गर्दै वाइकोले सोहीअनुसार सिस्टममा सुधार गरेको थियो । तर, एनआइसी एशियाको सेयर निफ्राजस्तै आइपीओपछि आउने कम्पनीका लागि तयार गरिएको ट्रेड इञ्जिनबाट कारोबार भएको थिएन । जसका कारण मर्जपछि कारोबार हुने कम्पनीमा समेत आइपीओपछिको जस्तै अधिक अर्डर पोस्ट भएपछि नयाँ समस्या आएको दाबी गरिएको छ । ‘हामीले अनुमान गर्दै नगरेको यो समस्या आइलाग्यो ।’ वाइकोका प्राविधिकहरु भन्छन्–‘आइपीओपछि कारोबार हुने कम्पनीका लागि निफ्रामा आएको समस्या समाधान गरी सिस्टम तयार गरिएको थियो, तर मर्जपछिको हकमा आइपीओजस्तै समस्या आउला भनेर सोचिएको थिएन ।’ 

प्राविधिकहरुले सिस्टम डाउन नभई एनआइसी एशिया लघुवित्तको क्यू क्लियर गर्ने क्रममा केही फिचर्स अफ गर्दा लगानीकर्तालाई समस्या भएको प्रष्ट्याए । ‘अब समस्या समाधान भइसक्यो ।’ उनीहरुले भने–‘आजको समस्यालाई सडकमा हुने ट्राफिक जामको रुपमा बुझ्नुपर्यो । ट्राफिक जाम भयो, जाम नखोली थप गाडीहरुलाई आउन दिइएन, भएको यस्तै हो ।’