काठमाण्डौ । एनआइसी एशिया बैंकको सेयर मूल्य तीव्र गतिमा बढ्न थालेको छ । 

केही दिनदेखि यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो । 

मार्केट डेप्थमा हेर्दा बिहीबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ । 

प्रतिकित्ता ४४२ रुपैयाँसम्म खरीद गर्ने चाहनासहित २३० कित्ताको अर्डर पोस्ट भएको देखिन्छ । त्यसपछि ४४१ रुपैयाँमा १८५० कित्ता, ४४० रुपैयाँमा ५ हजार कित्ता, ४३९ रुपैयाँमा ५ हजार २०५ कित्ता र ४३८ रुपैयाँमा ५७५ कित्ता खरीदका लागि खरीद आदेश पोस्ट भएको छ । 

यो बैंकको सेयर खरीदबिक्रीमा तीव्र मोलमोलाई चलिरहेको देखिन्छ । १ बजेसम्म कुल ५३ हजार ९७१ कित्ताको खरीद आदेश देखिएको छ भने १३ हजार ४८४ कित्ता मात्र बिक्री आदेश देखिएको छ । 

बिक्री आदेशमा सबैभन्दा कम मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ छ । बिक्री गर्न चाहनेले अधिकतम ४४७ रुपैयाँसम्मको अफर दिएका छन् । 

खरीद अर्डरमा उच्च चाप र बिक्रीमा न्यून चाप देखिनुले बैंकको सेयर किन्नेहरुको संख्या धेरै नै रहेको देखिन्छ । 

दिउँसो १ बजेसम्म बैंकको सेयर मूल्य अघिल्लो दिनको अन्तिम बिक्री मूल्यको तुलनामा प्रतिकित्ता ६ रुपैयाँ(१.३८ प्रतिशत)ले बढिसकेको छ । 

नेपालका बैंकिङ क्षेत्रका सेलिब्रेटी बैंकर अनिलकेशरी शाहले आफू सीइओ रहेको नवील बैंकको अबको प्रतिस्पर्धी एनआइसी एशिया बैंक रहेको बताएको कुराले एनआइसी एशियामा आकर्षण बढेको देखिन्छ । 

लगानीकर्ताहरु एनआइसी एशियाको सेयर मूल्य पनि नवीलकै हाराहारीमा पुग्ने अनुमानसहित धमाधम सेयर उठाइरहेका छन् । एनआइसी एशियाको बढ्दो प्रगतिका कारण सेयर मूल्यमा अझै केही सकारात्मक अवस्था देखिनसक्ने विश्लेषकहरुले बताइरहेका छन् ।

एनआइसी एशियाले चैत १४ गतेपछि भने राम्रो प्रदर्शन गरिरहेको छ । सो दिन दोश्रो बजारमा ३९८ रुपैयाँ प्रतिकित्ता रहेको मूल्य बढेर बुधबारसम्म ४३६ पुगिसकेको थियो । बिहीबार ४४२ रुपैयाँ पुगिसकेको छ । यसरी हेर्दा ६ कारोबार दिनको अन्तरालमा एनआइसी एशियाको सेयर मूल्य ११ प्रतिशतको हाराहारीमा बढिसकेको छ । यसरी एनआइसी एशियाका लगानीकर्ताले मात्र ६ दिनमा ११ प्रतिशतले सम्पत्ति बढाएका छन् । 

एनआइसी एशियाको प्रतिस्पर्धी बैंक भनिएको नवीलको मूल्य पनि बढिरहेको छ । नवीलको सेयर मूल्य प्रतिकित्ता ७२८ रुपैयाँको उचाईमा पुगिसकेको छ ।