काठमाण्डौ । नेप्से परिसूचक ऐतिहासिक उचाइमा पुग्दा दुई बैंकको बजार पुँजीकरण पनि १ खर्ब रुपैयाँ माथि पुगेको छ। योसँगै बजार पुँजीकरण १ खर्ब रुपैयाँ माथि पुग्ने कम्पनीहरुको संख्या ६ पुगेको छ।

हिजो सोमबार नेप्से ९२.४२ अंकले उकालो लाग्दै २५८६.०१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। 

यो दिन एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकको बजारपुँजीकरण पनि बढेर १ खर्ब रुपैयाँ माथि पुगेको हो। यसअघि नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र नबील बैंकको बजार पुँजीकरण १ खर्ब रुपैयाँ माथि पुगिसकेको छ।

एनआईसी एसिया बैंकको बजार पुँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ बढी पुगेको छ। यो बैंकको नेप्सेमा ११ करोड ५६ लाख ४० हजार कित्ता सेयर सूचीकृत छ। 

यसैगरी ग्लोबल आईएमई बैंकको बजार पुँजीकरण पनि १ खर्ब २ अर्ब रुपैयाँ बढी भएको छ। नेप्सेमा ग्लोबल आईएमई बैंकको २१ करोड ६३ लाख २५ हजार कित्ता सेयर सूचीकृत छ। 

एनआईसी एसिया र ग्लोबल आईएमईको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः ९१७ रुपैयाँ र ४७६ रुपैयाँ रहेको छ। 

हिजो परिसूचकमा उछाल आउँदा समग्र बजार पुँजीकरण भने बढेर ३५ खर्ब ६३ अर्ब रुपैयाँभन्दा बढीको उचाइमा पुगेको छ।