काठमाण्डौ । मर्जर प्रयोजनका लागि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रोक्का राखिएको सेयर कारोबार फुकुवा भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आजको निर्णयअनुसार एनआईसी एसिया लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको हो। अब यो संस्थाको सेयर भोलि मंगलबार कारोबारमा आउने भएको छ। 

एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर प्रक्रिया सुरु भएपछि नेप्सेले सेयर कारोबार रोक्का राखेको थियो। दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया टुंगिएसँगै नेप्सेले सेयर कारोबार फुकुवा गरेको छ। 

कारोबार फुकुवासँगै दुवै लघुवित्त आपसमा गाभिएपछि प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ दरका थप २५ लाख ९४ हजार ४०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यीसँगै नेप्सेमा अब यो लघुवित्तको कुल सूचीकृत सेयर संख्या १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता पुगेको छ।  

यी दुवै लघुवित्त १ः०.९४ सेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन्। 

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि यो लघुवित्तलाई प्रतिकित्ता ७६५.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।