काठमाण्डौ । एनआईसी एशिया बैंकले पुस महिनाका लागि पनि फेरि ब्याजदर घटाएको छ।

मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको कम्पनीले पुस महिनाका लागि अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। कम्पनीले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।

यसअघि मंसिर महिनामा कम्पनीको अधिकतम ब्याजदर ८.९६८ थियो। यो ब्याजदर वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून हो।एनआईसी एसियाले ब्याजदर घटाएसँगै अब अन्य बैंकहरुलाई पनि ब्याजदर घटाउन दबाब परेको छ। 
कुमारी बैंकले भने मंसिरका लागि लागू गरिएको ब्याजदरमा परिमार्जन गरेको छ।कम्पनीले पनि मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदरमा परिमार्जन गर्दै घटाएको छ।

यसअघि कम्पनीले मंसिर १ गतेदेखि लागू हुने गरी कात्तिकै ब्याजदरलाई निरन्तरता दिएको थियो।

कात्तिकमा कम्पनीले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याज दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिर महिनामा पनि कायम राखेको थियो। कम्पनीले अब भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागतमा ७.६१० प्रतिशत ब्याज दिने छ। कम्पनीले मुद्दति निक्षेपको ब्याजदर ०.४ प्रतिशतको विन्दुले घटाएको हो ।

यसैगरी कम्पनीले मंसिर २४ गतेदेखि लागू हुने गरी साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो ब्याजदर ७.५१० प्रतिशत थियो।

मंसिरमा वाणिज्य बैंकहरुमध्ये केहिले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.६०३ प्रतिशत र संस्थागतमा ८.६०३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर नै घटाएकाले ब्याजदर थप घट्ने अनुमान गरिएको छ । हुनत यसअघि नै बैंकहरुले ब्याजदर घटाउने क्रम सुरु गरेका थिए ।