काठमाण्डौ । गत असारको दोस्रो साता आईपीओ निष्कासन तथा बिक्री गरेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि बिहीबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार यो लघुवित्तको आईपीओ सूचीकृत भएसँगै अब भोलि बिहीबारबाट सेयर कारोबार आउने भएको हो। सेयर कारोबारका लागि नेप्सेले यो कम्पनीलाई 'एनआईसीएलबीएस' संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि ओपनिङ रेन्ज प्रतिकित्ता ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँ तोकेको छ। 

नेप्सेमा यो लघुवित्तको १ करोड ४८ लाख कित्ता सेयर सूचीकृत भएको छ। सेयर सूचीकृत भएपछि दिनुपर्ने आरटीएस सेवा काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडबाट हुनेछ। 

यो लघुवित्त गते असार १० देखि १०० रुपैयाँअंकित दरका कुल ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणसका लागि निष्कासन गरिएको थियो। 

एनआईसी एसिया लघुवित्त एनआईसी एसिया बैंकको सहायक कम्पनी हो । यो कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका स्वीकृति पाएको थियो । 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।