काठमाण्डौ । एनआईसी एसिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ।

गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई उचित पहिचान गर्दै बैंकले ग्राहकमाझ नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको यो कर्जा योजना सार्वजनिक गरिएको जनाएको छ। ग्राहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमालगायत अन्य कम्पनीहरूको साधारण सेयर धितो राखेर १२० दिनको सेयरको औसत बजारमूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

यस योजनाअन्तर्गत न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ। यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जासमेत लिन सकिने सुविधा बैंकले उपलब्ध गराएको छ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चात्को ४८ घन्टाभित्रै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ। साथै यससम्बन्धी जानकारी लिनका लागि ३४४८८ मा Loan टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने उद्देश्यले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ।

मुलुकभर ३२६ शाखा कार्यालय, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि हो। २१ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन्।