काठमाण्डौ । गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजीबजारमा भित्र्याउनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार पारी नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बुझाएको छ। 

सेबोनको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले नेपालको पुँजीबजारमा विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन र लकिङ पिरियड सकिएका जलविद्युत कम्पनीहरुको अध्ययन गर्न छुट्टछुट्टै समिति गठन गरेको थियो। तिनैमध्ये एनआरएनलाई भित्र्याउन अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरी सेबोन सञ्चालक समितिमा पेस गरेको हो। 

एनआरएनलाई भित्र्याउने सम्बन्धमा नियमावलीको मस्यौदा तयार गर्न सेबोनले नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। ‘साउन ४ गते बसेको सेबोन सञ्चालक समितिमा प्रतिवेदन पेस गरिएको छ’, संयोजक काफ्लेले भने, ‘अब बस्ने सञ्चालक समितिको अर्को बैठकमा फेरि प्रतिवेदनमाथि थप छलफल हुनेछ।’

एनआरएनलाई भित्र्याएर पुँजीबजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने विषयलाई मध्यनजर गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका एनआरएनलाई भित्र्याउन तथा उनीहरुको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानुनबमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा तयार गर्न काफ्लेको संयोजकत्वमा गठित समितिलाई सेबोनले जिम्मेवारी दिएको थियो। समितिका अन्य सदस्यहरुमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा सेबोनकी उपकार्यकारी निर्देशक दीपा दाहाल छन्।

समितिले ३ महिनाभित्र एनआरएनलाई नेपालको पुँजीबजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेस गर्न भनिएको थियो। यसका साथै अध्ययन समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधिसमेत सिफारिस गर्न भनिएको थियो। 

अब सेबोन सञ्चालक समितिको अर्को बैठकमा उक्त प्रतिवेदनमाथि अन्य सञ्चालकले राय-सुझाव मागिने सेबोन स्रोत बताउँछन्। ‘त्यसपछि अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा सञ्चालक समितिले गरेपछि कार्यान्वयन गर्न प्रक्रिया अगाडि बढ्छ’, स्रोतले भन्यो।