– अर्जुन तिमिल्सिना

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत छ।

यो कम्पनी करिब १० वर्षपहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य भेट्रान लगानीकर्ताको समूहमार्फत खासगरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो। यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, अम्बिकाप्रसाद पौडेललगायतका भेट्राल लगानीकर्ताहरुको समूह छ। 

यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाइड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङखोला जलविद्युत र २१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको देखिन्छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिर्टन अन अर्निङमा ६ करोड ५२ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.५१  रुपैयाँ रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

यो कम्पनीको मूल्यरेखाले बनाएको हालको रेखाचित्रलाई इलिअट वेभमार्फत विश्लेषण गर्दा इन्टरमिडिएट डिग्रीको वेभ (१) मा यो कम्पनीको सेयरमूल्य ७३५ रुपैयाँसम्म पुगेको देखिन्छ। वेभ (२) मा करेक्सन भएर ६५० रुपैयाँसम्म आएको छ। त्यसैगरी वेभ (३) मा बढोत्तरीका साथ ९२० रुपैयाँ र वेभ (४) मा यो कम्पनीको मूल्य करेक्सन भएर ८५० सम्म हुन सक्ने देखिन्छ। वेभ (५) मा पुनः बढोत्तरीका साथ यो कम्पनीको सेयरमूल्य आगामी २ वर्षसम्मको समयावधिमा १२०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि यो कम्पनीको सेयरमूल्य घटेमा ०.२३ प्रतिशतको टेवामा ७५३ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ७०० रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ६५७ रुपैयाँ र ०.६१ प्रतिशतको टेवामा ६१६ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेकोजस्तो देखिन्छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः छोटा–छोटा बन्दै गएका छन् (हेर्नुहोस् कालो एरो)। यो आधारमा यो कम्पनीमा बिक्रीचाप परेको अनुमान लगाउन सकिन्छ। अघिल्लोपल्ट पनि एमएसीडी लाइनले यस्तै चित्र बनाएर पुनः माथि फर्केको हुँदा अहिले पूर्ण रुपमा क्रसओर नभइसकेकोले यो कम्पनीको सेयरमूल्य  बियरिसमा लागेको भन्न हतार हुन सक्छ। त्यसैले आउने दिनको कम्पनीको अवस्था राम्रोसँग नियाल्न आवश्यक छ।

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब कम्पनीको सेयरमूल्य फेरि स्वाभाविक रुपमा माथितिर जान थाल्छ भन्ने हो। कम्पनीको मूल्यलाई  बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर ब्यान्डलाई छोएर तल झरेको छ तर मध्यरेखाभन्दा माथि नै रहेको देखिन्छ। मध्यरेखाभन्दा माथि रहुन्जेल कम्पनीको मूल्य बुलिस नै भएको अनुमान लगाउन सकिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको कम्पनीको  आरएसआई ६४ मा रहेको छ। जसको अर्थ हुन्छ ओभर बट जोन नजिकमा छ र अघिल्लोपल्ट यो विन्दु ७५ को तहमा पुगेपछि करेक्सन आएको थियो। कम्पनीको न्यून आरएसआई २७.८२ मा आउँदा अघिल्लोपल्ट यो कम्पनीको सेयरमूल्य  बुलिस यात्रा तय भएको थियो।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ८२८
  • प्रतिरोध २– ८६६
  • प्रतिरोध ३– ६४४ 

पिभट प्वइन्ट : ९२०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ७३६
  • सपोर्ट २– ६८२
  • सपोर्ट ३– ६४४

निष्कर्ष

यो कम्पनीको मूल्यरेखालाई विभिन्न औजारबाट हेर्दा अल्पकालीन औजारहरु जस्तै– बोलिंगर ब्यान्डले केही करेक्सनको सम्भावना देखाएको छ। एमएसीडी लाइनले पनि हिस्टोग्राम पोजेटिभ तर छोटा–छोटा भएकोले अल्पकालका लागि केही सामान्य करेक्सन हुन सक्ने देखाएको छ। तर, दीर्घकालमा भने सेयरमूल्य माथि नै जाने देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।