काठमाण्डौ । एनएमबि बैंक तथा कामना सेवा विकास बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर बुझाएका छन् ।

जसअनुसार एनएमबि बैंकले ठूला करदाता कार्यालयमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको छ । यसैगरी कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैंया बुझाएको छ ।

चालू आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था भएको र हालै मात्र भएको सर्वोच्च अदालतको निर्णयका आधारमा कर तिरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

करदाता कार्यालयका अनुसार ४१ वटा कम्पनीहरुले एफपीओबाट हुने लाभको कर बुझाएका छन् भने ती मध्ये १४ वटा संस्थाले एफपीओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएका छन्।  

अर्थमन्त्री डा प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्तिर एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । 

आर्थिक विधेयकको व्यवस्थाविरुद्ध सरकारलाई प्रतिपक्षी बनाएर बैंक तथा वित्तीय संस्था अदालत पुगेका थिए । तर, अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा निर्णय गरेपछि ती कम्पनीहरुले राज्य कोषमा कर बुझाएका हुन् ।