काठमाण्डौ । एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। 

गत वैशाख २१ गतेबाट बैंकको एनएमबि ऊर्जा ऋणपत्र (इनर्जी बन्ड–२)को बिक्री खुला गरिएको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते हुने भएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। यद्यपि यदि यो अवधिमा मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने पनि क्यापिटलले जनाएको छ।  

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ बिक्री खुला गरिएको छ। जसमा २१ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख इकाइ सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

एनएमबिको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

एनएमबि बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ४ प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत चैत २ गते निष्कासन अनुमति दिएको थियो।