काठमाण्डौ । पूँजीबजारमा आइतबार र सोमबारको तुलनामा मंगलबार झनै ठूलो पहिरो गएको छ । 

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरे पनि एनएमबी बैंकलाई मंगलबार लगानीकर्ताले पत्याएनन् । मंगलबार सबैभन्दा धेरै गुमाउने कम्पनीको सूचिमा एनएमबी बैंक पहिलो स्थानमा रह्यो ।

विगत केही दिनदेखि दैनिकजसो पैसा छापिरहेको कामना विकास बैंक लिमीटेडका लगानीकर्ता पनि मंगलबार जिल्लिए । यो कम्पनीको सेयर मूल्य मंगलबार ५ प्रतिशतले घट्यो ।

मंगलबार  बजार परिसूचक १.०१ प्रतिशतले घट्यो । १७.८९ अंकले बजार परिसूचक घटेर १७५१.०० विन्दूमा आइपुगेको छ । 

अघिल्लो साता ५ कारोबार दिनमा ४ दिनसम्म घटेको नेप्से अन्तिम दिन बढेको थियो । यो साता बजार निरन्तर ओरालो लागिरहेको छ । 

मंगलबार इण्डेक्ससँगै कारोबार रकम पनि घटेको छ । सोमबार ९३ करोडको हाराहारीमा सेयर किनबेच भएको बजारमा मंगलबार भने ७१ करोड ३२ लाखको मात्र कारोबार भयो । 

'क' वर्गका कम्पनीहरुको कारोबारमा सुस्तता आएका कारण सेन्सेटिभ इण्डेक्स ४.२३ अंकले घट्यो भने सबै समूहको परिसूचक रातो भयो । 

बिमा समूहमा १३३.४६ अंकको  गिरावट देखियो भने वाणिज्य बैंक समूह मंगलबार पनि १९.४६ अंकले घट्यो । यो समूह आइतबार र सोमबार पनि दोहोरो अंकले घटेको थियो । 

होटल समूहमा ३५.६३ अंकको गिरावट देखियो भने विकास बैंक समूह १७.४३, बित्त समूह २.३९, जलविद्युत समूह ०.५१ अंकले घटे । अन्य समूह स्थिर रह्यो । 

कुल कारोबारको करिब ६० प्रतिशत वाणिज्य बैंकहरुले होल्ड गरे । यो समूहले मात्र करिब ४२ करोडको कारोबार गर्यो । तर खरीद भन्दा बिक्रीको चाप बढी हुँदा बजारमा निराशा देखिएको हो । बिमा समूहको मंगलबार १७ करोडको मात्र कारोबार भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी ६ करोड ५४ लाख रुपैयाँको कारोबार गर्यो । एभरेष्ट बैंकले ५ करोड बढीको कारोबार गर्यो भने माछापुच्छे बैंकको ४ करोड, जनता बैंकको २ करोड ९५ लाख, एनएमबी बैंकको २ करोड ८५ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडको २ करोड ७८ लाख, शिखर इन्स्योरेन्सको २ करोड ७६ लाख, कुमारी बैंकको २ करोड ७० लाख, सानिमा बैंकको २ करोड ५२ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सको १ करोड ९७ लाख बराबरको सेयर कारोबार भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
मर्जरपछि मंगलबार मात्र सेयर कारोबार खुलेको सिभिल बैंक लिमीटेडले पैसा छापेको छ । यो बैंकको सेयर मूल्य मंगलबार १० प्रतिशतले वृद्धि भएको छ । सिनर्जी फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । यो कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भएको छ । यति डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य पनि ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । 

१९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरे पनि एनएमबी बैंकलाई मंगलबार लगानीकर्ताले पत्याएनन् । यो बैंकका लगानीकर्ताले बोनस सेयर घोषणा भएकै दिन  ६.०७ प्रतिशतले सम्पत्ति गुमाएका छन् । नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य पनि ५.५३ प्रतिशतले घटेको छ । महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा पनि ५.४२ प्रतिशतले गिरावट आएको छ । सोमबारसम्म लगातार पैसा छापिरहेको कामना विकास बैंकको सेयर मूल्य मंगलबार भने ५ प्रतिशतले घट्न पुगेको छ ।