काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम मौका रहेको छ। 

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि साउन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन १३ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही साउन २१ गते हुने १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी हुनेछ।