– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल टेलिकम देशको एकमात्र सरकारी लगानीमा चलेको प्रतिष्ठित दूरसञ्चार कम्पनी हो। यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अन्य समूहमा सूचीकृत भई कारोबार भइरहेको छ। 

नेपाल टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत र सर्वसाधारणको ८.५१ प्रतिशत सेयर रहेको छ। सर्वसाधरणतर्फ पनि मुख्य गरेर भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, छोटेलाल रौनियार तथा अम्बिका पौडेल समूह मुख्य सेयरहोल्डर छन् भने अन्य सर्वसाधरणको पनि यो कम्पनीप्रति निकै आकर्षण भएको पाइन्छ।  

आज हामीले यो कम्पनीलाई आधारभूत तथा प्राविधिक रुपमा विश्लेषण गर्ने प्रयास गरेको छौँ।

आधारभूत पक्ष

नेपाल टेलिकमको कुल सेयरपुँजी १५ अर्ब रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीको रिजर्भमा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६०.०७ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४० रुपैयाँमात्रै रहेको थियो। हालको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३.८३ गुणा रहेको छ। 

कम्पनीको नेटवर्थ ६५८.८१ रुपैयाँ रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०४२.४० रुपैयाँ रहेको छ। प्राइस टु बुक भ्यालु २.१८ गुणा रहेको कम्पनीको यो वर्षको रिर्टन अन इक्विटी ६० प्रतिशत भन्दा माथि हुने देखिन्छ। 

विगत १० वर्षमा नेपाल टेलिकमको औसत नगद लाभांशदर ४८ प्रतिशत रहेको देखिन्छ। कम्पनीको यो त्रैमाससम्ममा खुद नाफा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ। 

कम्पनीको आगामी व्यापारिक योजनामा दूरदराजसम्म फोरजी विस्तार तथा आफ्नो ग्राहकलाई गुणस्तरीय सेवा दिने रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानिकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री  हुन्छन्। त्यस्ता डिग्रीहरु साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्।

नेपाल टेलिकमको मूल्यलाई सन् २०१५ मा ५४५ रुपैयाँदेखि हालको मूल्यलाई एउटा चार्टमार्फत नियाल्दा ९५० रुपैयाँसम्म इन्टरमिडियट डिग्रीको वेभ (१) बनेको देखिन्छ। त्यसैगरी वेभ (२) मा करेक्सन भएर ६०० रुपैयाँसम्म आएको देखिन्छ। सोही डिग्रीमा वेभ  (३) बनाउँदै यो कम्पनीको सेयरमूल्य  १५०० रुपैयाँसम्म पुगेको र पुन वेभ (४) मा करेक्सन भएर १००० रुपैयाँसम्म आएको देखिन्छ। 

हाल यो कम्पनीको वेभ (५) चल्दै गरेकोले सेयरमूल्य लगभग १८३० रुपैयाँसम्म पुग्न सेक्ने देखिन्छ। इन्टरमिडियट डिग्रीमा पनि स–साना माइनर तथा मिनेट डिग्री पनि बन्ने भएकोले सेयरमूल्यमा घटबढ हुन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। त्यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा १३४५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा १२७२ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा १२१८ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवा ११५८ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १४ नोभेम्बरमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन्। यसले केही समय सेयरभाउ बढ्ने सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र हरियो मारुबुजु क्यान्डल बनेको छ । यसले  सेयरको मूल्यमा उच्च माग आएको बुझिन्छ। अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना देखिन्छ। यहाँनेर महत्वपूर्ण के रहेको छ भने यदि आगामी दिनमा अप्पर ब्यान्डमा इन्भर्टेड ह्याम्मर तथा माथि लामो धागोसहितको रातो क्यान्डल बन्छ भने अल्पकालमा सेयरमूल्यमा केही करेक्सन पनि आउन सक्छ।  

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ७८ रहेको छ।  अघिल्लोपटक यो न्यून विन्दु २८ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो। यो आधारमा आगामी कारोबारमा अल्पकालका लागि केही नाफाबुक हुन सक्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १५८७
  • प्रतिरोध २– १४१५
  • प्रतिरोध ३– १३१५

पिभट प्वइन्ट : ११४३

घटेमा सपोर्ट 

  • सपोर्ट १– १०४३
  • सपोर्ट २– ८७१
  • सपोर्ट ३– ७७१

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वगत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।