– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको सेयर बजार विगत केही सातादेखि अस्थिर छ। तरलता, बढ्दो ब्याजदर, राजनीतिक अस्थिरतालगायत विविध कारणले गर्दा बजारमा भारी अंकको उतारचढाव हुने गरेको छ। 

बजारमा उतारचढाव हुनु स्वाभाविक हो। तर, बजारमा उतारचढावबीच कुनै एउटा कम्पनीको सेयरमूल्यका साथै कारोबार रकममा असर नगर्नु भनेको स्वाभाविक मान्न सकिन्न। 

बजार घट्दा होस् वा बढ्दा होस्, उच्च कारोबार हुनुका साथै कम्पनीको मूल्य पनि असर नगरेको कम्पनी नेपाल टेलिकम (एनटीसी) को रहेको छ। बजार घट्दा पनि एनटीसीको मूल्य र कारोबार भने नघटेको देखिन्छ। गत अक्टोबर १९ मा एनटीसीको मूल्य ९९० रुपैयाँ थियो। हिजो दुई घन्टामात्र कारोबार हुँदा एनटीसीको कारोबार अधिकतम १७२९.९० रुपैयाँमा भएको छ। अर्थात् यो ५ महिनाको अवधिमा एनटीसीको मूल्य ७० प्रतिशतले बढिसकेको छ। 

एनटीसीमा लगानीकर्ताको आकर्षण

विगत केही महिनादेखि एनटीसीमा साना लगानीकर्तामात्र नभएर ठूला ब्रोकरहरुबाट कारोबार गर्ने ठूला लगानीकर्ता आकर्षित भएका छन्। आकर्षणको एउटै कारण एनटीसीको बोनस सेयर रहेको छ।

नेपाल सरकार ९१.४९ प्रतिशत स्वामित्व रहेको नेपाल टेलिकमले विगत १० वर्षदेखि नगद लाभांश दिँदै आएको छ। तर, नेपाल टेलिकमले एकाएक बोनस सेयर लाभांश दिने हल्ला भएसँगै सानादेखि ठूला सबै लगानीकर्ता सेयर किन्न तँछाडमछाड गर्दै आएका छन्।

एनटीसीको मूल्य किन यसरी बढ्दैछ ? भन्ने बिजशालाकर्मीको केही साताअघि राखेको जिज्ञासामा एक ब्रोकर सञ्चालकले भनेका थिए, ‘बोनस सेयर आउँदैछ भन्ने हल्ला छ। बजारको एउटा ठूलो ब्रोकरबाट केही खेलाडीले भारी संख्यामा एनटीसीको सेयर खरिद गरेकाले उक्त हल्ला सही हो जस्तो लाग्छ।’

ती ब्रोकर सञ्चालकले भनेको जस्तै एनटीसीले आज २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। अर्थात् ती ब्रोकर सञ्चालकले भनेको बजारका नामुद खेलाडीहरुले बोनस सेयर आउने सूचनामा सेयर खरिद गरेको सही ठहरिएको छ।

के भन्छन् लगानीकर्ता ?

लगानीकर्ताले सामाजिक सञ्जालमा नेपाल टेलिकममा इन्साइडर ट्रेडिङ भएको भन्दै खुल्ला विरोध गरिरहेको छन्। बोनस सेयर आउने हल्लामा सेयर किनेका लगानीकर्ता पनि २० प्रतिशतमात्र बोनस सेयर दिएकोमा उत्साहित देखिँदैनन। त्यसैले नेपाल टेलिकमको सेयर खरिद गरेकादेखि लिएर सेयर खरिद नगरेकासम्म सबैलाई बोनस सेयर आउने खबर भएको देखिन्छ। 

कम्पनीको सञ्चालक समितिबाट निर्णय नभई सूचना चुहावटबाट इन्साइडर ट्रेडिङ भएको प्रस्टसँग देखिन्छ। यस्ता सूचना बजारमा आइसक्दा केही सीमित व्यक्तिकोमा पहिला नै पुग्ने भएकाले उनीहरूलाई फाइदा हुने तर बजारका साना तथा नयाँ लगानीकर्ता भने फस्ने गरेको पाइन्छ।

‘इन्साइडर भएको हो कि होइन भन्ने फ्लोर सिटबाट हेर्दा हरकोहीलाई प्रस्ट हुन्छ’, बजारका अगुवा एक लगानीकर्ता भन्छन्, ‘विगत एक महिनादेखि एनटीसी एउटै ब्रोकरबाट खरिद भएको देखिन्छ। एउटै ब्रोकरबाट खरिद भएकाले गर्दा बजारले भन्दा पनि ब्रोकरले किनेको देखिन्छ। त्यसैले १०० प्रतिशत इन्साइडर भएको हो।’ 

‘नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष आउनुभएको छ। त्यसैले यस्तो गतिविधिमा संलग्न हरकोहीलाई कारबाही हुनेमा हामी विश्वस्त छौँ’, ती लगानीकर्ताले भने। 

‘कार्यभार सम्हालेको पहिलो दिनदेखि सेबोन अध्यक्ष रमेशकुमार हमालले नै इन्साइडर ट्रेडिङ गर्नलाई कारबाही गर्नुका साथै इन्साइडर भएको नभएको पत्ता लगाउने सिस्टम ल्याउने भन्नुभएको थियो’, ती लगानीकर्ताले भने, ‘यो त खुलेआम इन्साइडर हो। यो पत्ता लगाउन कुनै सिस्टमको आवश्यक पर्दैन। फ्लोर सिटमात्र हेरे पनि पुग्छ। त्यसैले सेबोन अध्यक्ष हमालको यो अग्नि परीक्षा हुनेछ।’

सेबोनका प्रवक्ता निरज गिरीले पनि एनटीसीमा इन्साइडर ट्रेडिङ भइरहेको सुन्नमा आएको बताए। ‘यस विषयमा सेबोनको सम्बन्धित विभागले अध्ययन गरेर छानबिन प्रक्रिया अगाडि बढाउनेछ’, उनले भने। 

सेबोन अध्यक्ष हमालले भने यस विषयमा आधारिक रुपमा सूचना वा उजुरी परेको खण्डमा सेबोनले छानबिन गर्ने बताए। ‘छानबिनबाट इन्साइडर ट्रेडिङ भएको पुष्टि भएमा कारबाही हुन्छ’, उनले भने।