– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) को विगत ५ महिनाको सेयरमूल्य हेर्दा झन्डै ७० प्रतिशतले वृद्धि भएको छ। बजार घट्दा पनि नेपाल टेलिकमको सेयरभाउ बढ्नुका साथै उल्लेखनीय कारोबार भएको छ।
नेपाल टेलिकमले एकाएक ‘बोनस सेयर’ दिने हल्ला भएसँगै सेयरभाउमा वृद्धि हुनुका साथै उच्च कारोबार भएको वित्तीय जानकारहरु बताउँछन्।
नेपाल टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले विगत १० वर्षदेखि सेयरधनीहरुलाई नगद लाभांशमात्रै दिँदै आएको थियो। यसपालि भने कम्पनीले २० प्रतिशत बोनस सेयर दिने र २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
नेपाल टेलिकमले ‘बोनस सेयर दिन्छ’ भन्ने हल्ला विगतका वर्षमा सेयर खेलाडीहरुलाई चलखेल गर्दै आएको देखिन्छ। तर उक्त हल्लाहल्लामै सीमित हुन्थ्यो। 
यसपटक टेलिकमले बोनस सेयर दिन्छ भन्ने पक्का जानकारी भने ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाट कारोबार गर्ने एक नामुद व्यापारीलाई भएको खुलेको छ।
बिजशालालाई प्राप्त जानकारीअनुसार ती व्यापारीले टेलिकमको बोनस सेयर घोषणा हुनुअघि नै ६–७ दिनको अन्तरालमा करिब ५ लाख कित्ता ५८ नम्बर ब्रोकरबाट आफ्नी पत्नीको नाममा खरिद गरेका छन्। विगत २–३ महिनाको फ्लोरसिट हेर्दा पनि ब्रोकर नम्बर ५८ बाट ठूलो परिमाणमा नेपाल टेलिकमको सेयर खरिद देख्न सकिन्छ। अर्थात् ५८ बाट कारोबार गर्ने अधिकांश लगानीकर्तालाई बोनस सेयर दिने सूचना पहिला नै प्राप्त भएको भन्ने देखिन्छ।
स्रोतका अनुसार ती व्यापारीसँग ठूलो पुँजी भएकाले उक्त सेयर पनि तिनै व्यापारीले खरिद गरेका हुन्।
नेपाल टेलिकमले सञ्चालक समितिबाट निर्णय नभई अन्य खेलाडीलाई सुरुमा नै जानकारी प्राप्त भएकाले यो कम्पनीमा इन्साइडर ट्रेडिङ भएको भनेर सामाजिक सञ्जालहरुमा लगानीकर्ताहरुले विरोध गर्दै आएका छन्। लगानीकर्ता संघसंगठनका नेताहरुले पनि नेपाल टेलिकममा इन्साइडर ट्रेडिङ भएको भन्ने स्वीकारेका छन्।
यद्यपि, नेपाल टेलिकममा बजारका ठूला खेलाडीको नाम जोडिएसँगै संघसंगठनहरुका अगुवाहरु पनि चुपचाप रहेको अवस्था छ। त्यसैले यस रिपोर्टिङमा ‘अन द रेकर्ड’ बोल्न कोही इच्छुक देखिएनन्।
नासा सेक्युरिटिज (ब्रोकर ५८) का सञ्चालक मदन पौडेलले विगत २–३ महिनादेखि नै ती ग्राहकबाट सेयर खरिद भएको बताए। ‘२–३ महिनाअघि नेपाल टेलिकमको सेयरमूल्य १२०० रुपैयाँ हुँदादेखि नै ती ग्राहकले सेयर खरिद हुँदै आएका हुन्’, उनले भने, ‘ती ग्राहकको नाममा करिब २०–३० लाख कित्ता सेयर नै छ, हामीले त ग्राहकले दिएकोको आदेशमा सेयर खरिदबिक्री गर्ने हो। क्लाइन्टले किन किन्दैछ भन्ने हामीलाई थाहा हुँदैन।’
विगत केही महिनादेखि ५८ नम्बर ब्रोकरबाट नेपाल टेलिकमको सेयर खरिद भएको स्वीकार्दै पौडेलले भने, ‘विगत केही महिनादेखि नै नेपाल टेलिकमको सेयर खरिद हुँदै आएको छ। त्यसैले इन्साइडर ट्रेडिङ नै हो वा होइन यकिन साथ भन्न सकिन्न। अहिले पहिलाजस्तो छैन। अनलाइनबाट अधिकांश कारोबार हुन्छ। त्यसैले हामी (ब्रोकर) लाई सबै थाहा हुँदैन।’
नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक निरज गिरीले बोर्डको सुपरिवेक्षण विभागले अध्ययनका साथै सूचना माग्ने काम अघि बढाएको बताए। ‘विभिन्न सञ्चार मध्यममा उक्त विषयमा कुरा उठिरहेको छ’, गिरी भन्छन्, ‘त्यसैले नेप्सेलगायतबाट सूचना माग्ने काम भइरहेको छ। इन्साइडर ट्रेडिङ भएको प्रमाणित भएमा धितोपत्र ऐनअनुसार कारबाही हुन्छ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19