काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोमबार १५औं वार्षिकोत्सव मनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुखआतित्थमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर डा .नीलम ढुंगाना तिमसिनासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारी र उक्त कम्पनीका अध्यक्ष रामु पौडेलले १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत सात जना कर्मचारीहरूलाई अवार्ड प्रदान गरेका थिए ।

कम्पनीले पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरेको छ । त्यसैगरी, कम्पनीले महालेखा नियन्त्रक कार्यालयलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसन गर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको छ । दुवै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त समझदारीपत्र आदानप्रदान गरिएको थियो ।

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त कम्पनी हो ।

यसको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर–बैंक संस्थाहरू छन् ।