काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले लिलामीमा राखेको निकै ठूलो परिमाणको साधारण सेयर पाउनबाट नागरिक लगानीकोष बञ्चित हुने भएको छ । 

कोषले बैंकले लिलामीमा राखेको निकै ठूलो परिमाणको संस्थापक र साधारण सेयरका सबै कित्ता खरीदका लागि बोलपत्र पेश गरेको थियो । 

तर, कोषले बोल लगाएको मूल्य भन्दा बढी दररेटमा अन्य आवेदकले बिड गरेपछि साधारण समूहतर्फको कुनै पनि कित्ता कोषले नपाउने अवस्था सिर्जना भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

हालसम्म खोलिएका बोलपत्रहरुको आधारमा एनसीसीको साधारण सेयरको कटअफ मूल्य रु. २०१ कायम भएको छ । यसको अर्थ २०२ रुपैयाँ वा सोभन्दा बढी मूल्यको बोल लगाउनेहरुले माग गरेअनुसार सेयर कित्ता पाउने र रु. २०१ को बोल लगाउनेले बाँकी रहेको सेयर पाउने संभावना देखिएको क्यापिटल स्रोतले जनाएको छ । 

नागरिक लगानीकोषले एनसीसीको साधारण समूहको सेयरमा प्रतिकित्ता रु. १९१ को बोली लगाएको थियो । यसर्थ उसले साधारण सेयर पाउने संभावना अब टरेको छ । 

संस्थापक सेयरतर्फ भने उसले ३५ लाख कित्ताको हाराहारीमा सेयर पाएको छ । यो समूहतर्फको सेयरमा कोषले प्रतिकित्ता १०१ रुपैयाँको दरले बोली लगाएको थियो । रु. १०१ को बोल लगाउने अन्य संस्थापक समेत रहेकाले यो समूहतर्फ पनि ३५ लाख कित्ता मात्र कोषको भागमा परेको हो ।  

एनसीसी बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म समय दिएर ५० प्रतिशतको अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निश्कासन गरेको थियो ।

तर, बैंकका आधारभुत शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद खरीदका लागि इच्छा नै देखाएनन्, फलस्वरुप कुल निश्कासित हकप्रदमध्ये एक करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन पर्यो । बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याइएको थियो ।

एनसीसी बैंकले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १९८ कित्ता शेयर लिलामीमा राखेको थियो । 

कोषले संस्थापक समूहतर्फ १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँ र सर्वसाधारण समूहतर्फको शेयरका लागि २६ करोड ६२ लाख ९१ हजार रुपैयाँको गरी कुल ९२ करोड ४४ लाख ८८ हजार रुपैयाँ सेयरका लागि बिड गरेको थियो ।