काठमाण्डौ । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । यो समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

केहि दिनअघि मात्र स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियटा यूके लिमिटेड बीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिने सम्झौता भएको थियो ।

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् ।