काठमाण्डौ। सर्वोच्च अदालतले एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा  दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

 

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आगामी पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो । 

स्वतन्त्र सांसद अमरेस कुमार सिंहले एनसेल बिक्री शंकास्पद भएको भन्दै गत मंसिर २२ गते रिट दायर गरेका थिए। उनले एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् ।
एनसेलको ८० प्रतिशत सेयर व्यावसायी सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले मंसिर १५ गते खरिद गरेको थियो। सरकारले यस विषयमा छानविन समिति बनाएको छ । 

 

एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको  छ।

मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा उक्त कम्पनीको सेयर खरिदबिक्रीमा गडबडी भएको पाइएका कडा कारबाही गर्ने बताएका थिए ।

मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा उक्त कम्पनीको सेयर खरिदबिक्रीमा गडबडी भएको पाइएका कडा कारबाही गर्ने बताएका थिए ।

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बेलायती कम्पनीलाई बेचेको थियो। कम मूल्यमा बिक्री गरेको तथ्य बाहिरिएपछि अनुसन्धानका लागि सरकारमाथि चौतर्फी दबाब परेको  छ ।