– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयदेखि अन्यौलमा रहेको ब्रोकरहरुको आफ्नै टीएमएस सञ्चालनमा ल्याउने प्रक्रिया अब अगाडि बढ्ने भएको छ। 

ब्रोकरको टीएमएस सञ्चालनमा ल्याउन आवश्यक एपीआई पोलिसी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। एपीआई पोलिसी बनेपछि ब्रोकरको आफ्नै टीएमएस सञ्चालनमा ल्याउने प्रक्रिया पनि अगाडि बढ्नेछ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेशकुमार हमालले एपीआई पोलिसी निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘दु्रतगतिमा काम भइरहेको छ। हुलाकी प्रक्रिया (चिठीपत्र)का माध्यमका सट्टा नेप्से र सेबोनको समन्वय हाल ई–मेल–इन्टरनेटबाट भइरहेको छ’, उनले भने, ‘यसका साथै लामो समयदेखि अड्किएर बसेको ब्रोकरको आफ्नै टीएमएस सञ्चालनमा ल्याउन एपीआई पोलिसी निर्माणको काम एउटा टाक्स फोर्समार्फत अगाडि बढेर लगभग अन्तिम चरणमा पुगेको छ।’

हालसम्म टाक्स फोर्सको दुईवटा बैठक बसिसकेको पनि हमालले जानकारी दिए। टाक्स फोर्समा निरज गिरीको नेतृत्वमा ६ सदस्यीय टोली रहेको छ। समितिमा सेबोनबाट ३ जना र नेप्से, सीडीएसी तथा  ब्रोकरबाट आमन्त्रित एक÷एकजना सदस्य छन्। 

केही दिनमै विज्ञहरुको अन्तिम बैठक बसेर एपीआई पोलिसीलाई अन्तिम रुप दिइने अध्यक्ष हमालले बताए। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले पनि आफूहरुको म्याचिङ इन्जिन तयार रहेको र एपीआई पोलिसी आउनेबित्तिकै ब्रोकर आफ्नै टीएमएस सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाउने जानकारी दिए। नयाँ टीएमएसमा अन्तर्राष्ट्रियस्तरको हुने र यसमा लगानीकर्ताको पोर्टफोलियो व्यवस्थापनदेखि ब्रोकरहरुलाई रिस्क व्यवस्थापनसम्मका सबै सुविधा दिइने बताइएको छ। यसका साथै नयाँ टीएमएसमा इन्ट्राडे कारोबारदेखि प्राविधिक विश्लेषणसम्म गर्न सकिने टुल्स तथा मेकानिजम हुने ब्रोकरहरुले बताएका छन्।