काठमाण्डौ । आइतबार र सोमबार उकालोतर्फको यात्रामा अगाडि बढेको पूँजीबजार मंगलबार फेरि सेलाएको छ । यो दिन नेप्से परिसूचक ४.३७ अंकले घटी १७०१.९१ अंकमा फर्किएको हो । 

तीन समूहको परिसूचकमा झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहमा रातो पोतियो । 

वाणिज्य बैंक समूह ६.८९ अंक, बिमा समूह २३.०६, बित्त समूह १.१२, जलविद्युत समूह ३०.५४ र होटल समूह ३३.२ अंकले ओरालो लागे । 

विकास बैंक समूह भने १.९१ अंकले उक्लियो । उत्पादनमूलकमा ३.९९ र अन्य समूहमा ८.९६ अंकको बढोत्तरी देखियो । 

मंगलबार कुल १३९ कम्पनीको ९ लाख ४६ हजार ४ सय ११ कित्ता सेयर ८० करोड ९८ लाख रुपैयाँमा खरीदबिक्री भयो । 

समूह परिसूचक घटे पनि कुल कारोबारमा वाणिज्य बैंकको राम्रो होल्ड रह्यो । यो समूहले मात्रै ५० करोड बढीको कारोबार गर्यो । ५० करोडमा १७ करोड बढी त एभरेष्ट बैंकले मात्र कारोबार गर्यो । 

बिमा समूहले १७ करोड र विकास बैंक समूहले ७ करोड ६५ लाख बराबरको कारोबार गर्यो । 

धेरै कारोबार गर्ने कम्पनी
एभरेष्ट बैंकबाट चुहिएको सूचनाका कारण मंगलबार पनि बजार प्रभावित भयो । यो बैंकले बम्पर सेयरको अफर ल्याउन लागेको हल्लाका कारण मंगलबार पनि १७ करोड ३४ लाख बराबरको सेयर कारोबार गर्यो । 

बैंक अफू काठमाण्डौ लुम्बिनी लिमीटेडको ४ करोड ६२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ९२ लाख, कुमारी बैंकले ३ करोड ३३ लाख, शिखर इन्स्योरेन्सले ३ करोड २७ लाखको सेयर कारोबार गर्यो । सिभिल बैंकले ३ करोड ११ लाख, सिद्धार्थ बैंकले ३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड २२ लाख, एनएमबी बैंकले २ करोड ९ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ८ लाख बराबरको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार घटे पनि मंगलबार गरिमा विकास बैंकले पैसा छाप्यो । यो बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । किसान माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले पनि ४ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति बढाए । 

मंगलबार महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । बोटलर्स नेपाल तराई लिमीटेडको सेयर मूल्य ५.३० प्रतिशतले घट्यो । बुटवल पावर कम्पनी र आइएलएफसीओ माइक्रो फाइनान्सको सेयर मूल्य पनि ५ प्रतिशतको हाराहारीमा घट्यो ।