– अनन्त्य सुन्दर

काठमाण्डौ । बढ्दो बजार र तरलताको चाप उच्च भएकाले पछिल्लो समय नेपाली सेयर बजार मन्द गतिमा चलेको छ। चुनावको मिति घोषणापछि पनि बढ्न नसकेको बजार एमसीसी पास भएपछि बढ्छ भन्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, आज बजारमा ठिक विपरीत भएको छ।

बजारमा कारोबार सुरु भएको केही समयसम्म बढेको बजार बन्द हुँदा ४३.१२ अंकले घटेर २६१०.६० मा बन्द भएको छ। त्यस्तै हाइड्रो इन्डेक्स सर्वाधिक ३.०९ प्रतिशतले अर्थात् १०२.३४ अंकले घटेको छ। 

त्यस्तै सर्वाधिक घट्नेमा बीमा, निर्जीवन बीमा, फाइनान्स, इन्भेस्टमेन्ट सेक्टरहरु पनि रहेको छ।

एमसीसी पास भएपछि बढ्छ भनिएको हाइड्रो सेक्टर किन घट्यो भन्ने आमगानीकर्ताको चासोको विषय बनेको छ। अधिकांश लगानीकर्तामा एमसीसी पास भएपछि जलविद्युत कम्पनीहरुका सेयरमूल्यमा उछाल आउने साथै अधिकांश जलविद्युत कम्पनी मूल्य हजार माथि हुन्छ भन्ने अपेक्षा थियो। तर, आज बजारमा भने विगतमा झैँ बजार लगानीकर्ताको अपेक्षाको ठिक विपरीत भएको छ।

नेपाल ईन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल लगानीकर्तामा एमसीसीको बुझाइ नै कमजोर भएको बताउँछन्। ‘एमसीसीले हाइड्रोमा लगानी गर्ने हो र ?’, प्रश्न गर्दै ढकाल भन्छन्, ‘एमसीसीले प्रसारण लाइन र बाटो बनाउन लगानी भनेर क्लियरली भनिएको छ। तर, लगानीकर्ताले भने एमसीसीले हाइड्रो कम्पनीमा नै लगानी गर्ने र हाइड्रोको सेयर मूल्य आजको भोलि नै बढ्ने भन्ने बुझाइ भएको देखिन्छ।’

एमसीसीले कहाँ, कहिले र कसरी लगानी गर्ने भन्ने कुरा लगानीकर्ताले बुझ्नुपर्ने ढकाल बताउँछन्। ‘अहिले तरलताको समस्या छ। एमसीसी पास भएपछि आर्थिक गतिविधि बढ्नुका साथै अर्थतन्त्र चलायमान हुन्छ’, उनले भने, ‘त्यसैले एमसीसीको काम सुरु भएपछि भने तरलता केही सहज हुने देखिन्छ।’

विगतको ट्रेन्ड हेर्दा पनि यो बेला बजार घटेको देखिन्छ। अब चैत–वैशाखमा कम्पनीहरुको ९ महिनाको रिपोर्ट आउँछ। त्यस्तै चुनावमा सरकार, स्थानीय निकायका साथै उम्मेदवारहरुले पनि खर्च गर्ने भएकाले तरलता सहज हुनुका साथै बजार बढ्ने ढकालले बताए।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजार सेन्टिमेन्टमा चल्ने बताउँछिन्। ‘हिजो एमसीसी पास मात्र भएको हो। एमसीसीको पैसा आज नै बजारमा आउने भन्ने हुँदैन’, उनले भनिन्, ‘तर लगानीकर्ताले बुझ्ने र हामीले बुझाउन नसकेको देखिन्छ।’

तरलताको संकट अहिले पनि छ। ‘बैंकहरुले ५० हजार लोन दिने अवस्था छैन। अनि कसरी बजार बढ्छ त ?’, प्रश्न गर्दै पोखरेलले भनिन्, ‘तरलता सहज नभएसम्म बजार यस्तै हुने देखिन्छ।’

‘ठुला लगानीकर्ताले बजारमा लगानीकर्ताको सेन्टिमेन्टमा खेलेको देखिन्छ। अघिल्लोपटक स्थानीय चुनावको मिति घोषणा हुँदा पनि यस्तै हल्ला गरिएको थियो’, पोखरेल भन्छिन्, ‘त्यसैले लगानी गर्दा हल्लाको पछि नलागी लगानीकर्ता आफ्नो स्वविवेक प्रयोग गरेर लगानी गर्नुपर्छ।’

बजारका सक्रिय लगानीकर्ता नवराज दाहालका अनुसार एमसीसी पास भएपछि हाइड्रो बढ्छ र सेयर बेच्छु भनेर बसेका अधिकांश लगानीकर्ताले प्यानिक सेल गर्दा बजारका साथै हाइड्रो घटेको बताउँछन्। ‘चुनावको मिति घोषणा पछि बढ्छ भनेको बजार बढ्न सकेन’, उनले भने, ‘त्यस्तै एमसीसी पास भए पछि बढ्छ भनिएको हाइड्रो एमसीसी पास भए पछि पनि बढेन। एमसीसी पास भएको भोलिपल्ट पनि हाइड्रो नबढे पछि सेलिङ प्रेसर बढी भएर बजार घट्यो।’

प्रि–ओपन साथै कारोबार सुरु भएको केही समय बजार बढेको थियो। बजारको बढाइ हेर्दा आज त हाइड्रो सर्किट नै लाग्छ भन्ने थियो। तर बजारको बढाइ एक घन्टा पनि टिक्न सकेन। दाहाल भन्छन्, ‘एमसीसी पास भएपछि हाइड्रो किन्न पाइँदैन, हाइड्रो सुनको टुक्रा हो भन्ने लगानीकर्ताको धारण थियो। तर, आजको बजारले यस्तो घटनाले बजारलाई कुनै असर गर्दैन भन्ने सिकाइ मिलेको छ। त्यसैले लगानीकर्ताले यस्तो घटनाको पछि लाग्न छोडेर आफ्नै लगानी रणनीति बनाउनुपर्छ।’

सेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइरालाका अनुसार एमसीसी र हाइड्रोको सम्बन्ध नै नभएको बताउँछन्। कोइराला भन्छन्, ‘एमसीसी पास हुँदा हाइड्रोको नाफा बढ्ने होइन। त्यस्तै एमसीसी फेल हुँदा हाइड्रोको नाफा घट्ने होइन। तर, बजारमा भने एमसीसी पास भएपछि हाइड्रोको मूल्य बढ्छ भनेर हल्ला फैलाउने काम भएको थियो।’

‘एमसीसी पास हुँदा विद्युत् प्राधिकरणलाई फाइदा हुने हो। तर, यहाँ एमसीसी पास हुँदा हाइड्रोको मूल्य नै बढ्छ भनेर हल्ला गरियो’, कोइराला भन्छन्, ‘एमसीसी पास भएपछि हाइड्रो बढ्छ भनेर धेरै लगानीकर्ताले हाइड्रोको सेयर होल्ड गरेका थिए। पास भएपछि सबै लगानीकर्ता बेच्नेमात्र किन्ने कोही नभएपछि आज हाइड्रोमात्र नभएर बजार नै घटेको हो।’