काठमाण्डौ । लामो समयदेखि चर्चामा रहेको नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता प्रतिनिधिसभामा आज टेबल भएको छ। २०७४ भदौ २९ गते भएको नेपाल सरकार र एमसीसीबीचको सम्झौता अब संसद्बाट अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा नेपाल उद्योग परिसंघको विश्वास छ। 

नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण रहेको परिसंघको भनाइ छ। ‘लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्छन्’, परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपश्चातको आर्थिक पुनरुत्थानका लागि ठूलो लगानी चाहिन्छ। यसका लागि पनि एमसीसीजस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ।’ 

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक रहेको परिसंघले अवगत गराएको छ। ‘नेपालले ७५ वर्ष लामो सम्बन्धमा अमेरिकाबाट प्राप्त भएका सहयोगबाट आर्थिक/सामाजिक विकासमा गुणात्मक फड्को मारेको छ’, परिसंघले भनेको छ, ‘नेपालले दातृ निकायहरुबाट प्राप्त गरिरहेको विश्वास अभिवृद्धिमा एमसीसी सम्झौता कार्यान्वयनले थप टेवा दिनेछ भन्ने हाम्रो विश्वास छ।’

अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो। ‘सन् २०२६ बाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालमा उत्पादित वस्तुहरुको सहज निर्यातका लागि सौविध्यपूर्ण व्यवहारका लागि पनि नेपालले असल सम्बन्ध कायम गरिराख्नुपर्छ’, विज्ञप्तिमा उल्लेख छ। 

हाल नेपालमा विदेशी मुद्रा सञ्चिति न्यून हुन गई देश गम्भीर आर्थिक संकटोन्मुख भइरहेका बेला ठूलो राशिको सहायता कार्यान्वयन गर्न सक्दा त्यसले विदेशी विनिमय प्राप्तिमा पनि योगदान गर्ने परिसंघको ठहर छ। ‘५० करोड अमेरिकी डलरको सहायता परियोजना नेपालका आर्थिक वृद्धिका अवरोध हटाउन केन्द्रित छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा गरिएको अध्ययनबाट प्राप्त भएका निष्कर्षबमोजिम नै क्षेत्रगत रूपमा छनौट भएका आयोजनामा यो रकम खर्च हुनेछ। अमेरिकाको साथसाथै यसमा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर खर्च गर्नेछ। आयोजना कार्यान्वयन प्रारम्भ भएको मितिले ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमूना समेत यस परियोजनाले प्रस्तुत गर्दछ।’ 

युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकले एमसीसी सहायतामा रुपान्तरणकारी आयोजना कार्यान्वयन गरी आफ्नो अर्थतन्त्रको गुणात्मक वृद्धि गरेको परिसंघको भनाइ छ। ‘नेपालले यस परियोजना समयमै कार्यान्वयन गरी प्रविधि हस्तान्तरण, आयोजना कार्यान्वयन र विकास व्यवस्थापनमा नमूना प्रस्तुत गर्नेछ भन्ने हाम्रो विश्वास छ’, परिसंघले भनेको छ, ‘विकासमा राजनीति नगर्ने संकल्प प्रस्तु गर्न सबै राजनीतिक दलहरुमा परिसंघ आग्रह गर्दछ। आमनेपाली जनतालाई विश्वासमा लिई समयमै आयोजना कार्यान्वयन गर्दै विकासको लाभ प्राप्तिको बाटोमा नेपाल सरकार अग्रसर हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ।’