काठमाण्डौ । सत्ता गठबन्धनबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आज आइतबार नै पास गर्ने सहमति बनेको छ। 

बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजै प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। जसअनुसार पहिलो चरणमा एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेस हुनेछ। 

त्यसपछि दोस्रोपटक बैठक राखेर अनुमोदन गर्ने निर्णय गठबन्धनले गरेको हो।

‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिका पनि सकारात्मक रहेको बैठकमा सहभागी नेताले बताए। ‘हाम्रो निर्णयप्रति अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएका छन्’, ती नेताले भने।