काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडको हकप्रद सेयर निष्कासन प्रक्रियामा ढिलाइ हुँदा सेयरधनीहरु आक्रोशित बनेका छन्। 

अघिल्लो साता कम्पनीले हकप्रद निष्कासनको प्रोसेस अन्तिम चरणमा पुगेको र २–३ दिनमा नै नेपाल धितोपत्र बोर्डमा अनुमति निवेदन पेस गर्ने जनाएको थियो। तर, कम्पनीले हालसम्म पनि धितोपत्र बोर्डमा हकहप्रद सेयरको प्रस्ताव पेस गर्न सकेको छैन। 

कम्पनीको डकुमेन्ट प्रोसेसमा ढिलाइ भएका कारण सेबोनमा अझै पनि निवेदन पेस गर्न नसकिएको कम्पनीले जनाएको छ। ‘एलआईसी नेपालमा आधाभन्दा बढी एलआईसी इन्डियाको लगानी रहेको छ, दुईवटा कम्पनीको फाइलिङका कामहरु मिलाउनुपर्ने भएकाले हकप्रद निष्कासनको प्रक्रिया ढिला भएको हो’, कम्पनीका एक अधिकारीले भने, ‘सोसम्बन्धी प्रस्ताव धितोपत्र बोर्डमा पेस गर्न अझै १० दिन जति लाग्न सक्छ।’ 

यसअघि कम्पनीले रेटिङको काम अड्किएर ढिला भएको जनाएको थियो। रेटिङको काम सकिए पनि दुईवटा कम्पनीको फाइलिङको कामले गर्दा ढिला भएको कम्पनीका सचिव सुदर्शन गिरीले बताए। 

कम्पनीले गत वर्ष भदौ १३ गते चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतले हुने अर्थात् १ः०.८८ रेसियोले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद जारी गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो। प्राधिकरणले गत वर्ष पुस २२ गते कम्पनीलाई साधारणसभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित भएबमोजिम हकप्रद जारी गर्न सैद्धान्तिक सहमति दिएको थियो। 

प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम एलआईसी नेपालले हकप्रदको बाटो रोजेको थियो। 

कम्पनीले ८८ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएमा चुक्तापुँजी ५ अर्ब पुग्नेछ।