काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको छ। 

गत वर्ष नै पुँजीबजारका सक्रिय लगानीकर्ता र गैरआवासीय नेपालीहरुको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरका रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ। 

बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधबार एक समारोहबीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका छन्। क्यापिटलले आगामी साता औपचारिक उद्घाटन गरी कारोबार सुरु गर्ने जनाएको छ। 

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ। सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) र डीपी सेवासमेत दिने क्यापिटलले जनाएको छ। 

२२ करोड ५० लाख रुपैयाँ पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फन्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए। व्यावसायिक व्यक्ति तथा संस्थाहरुको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोबार सुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरु ल्याउने जनाएको छ।

हाल सञ्चालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरुमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो। बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन। सञ्चालनमा रहेका मर्चेन्ट बैंकरहरुमध्ये झन्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गइसकेका वा जाने क्रममा छ। 

नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यावसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।