काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीको यस्तो नाफा २ करोड ९६ लाखमा सीमित थियो । यो हिसाबले नाफामा १२.०९ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीले समीक्षा अवधिमा बिमा शुल्कबाट १ अर्ब ९३ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ६० करोड आर्जन गरेको थियो ।

हालसम्म कम्पनीको कुल बिमा शुल्क आर्जन रकम १४ अर्ब ९१ करोडको उचाईमा पुगिसकेको छ ।

कम्पनीमा बिमा लेखको संख्या भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा २ लाख १७ हजार रहेको बिमालेखको संख्या घटेर २ लाख ५ हजारमा सीमित बन्न पुगेको हो ।

एशियन लाइफ इन्स्योरेन्सले यो अवधिमा लगानी कर्जा तथा अन्यबाट हुने आयलाई ६९ करोड ७९ लाखको उचाईमा पुर्याएको छ । गत वर्ष यस्तो आय ५२ करोड ८४ लाख मात्र थियो । बिमालेखको धितोमा कर्जाबाट हुने आय १ करोड १९ लाखबाट बढेर १ करोड ७९ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा एशियन लाइफको जगेडाकोषमा राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष कोषमा १७ करोड ७४ लाख रहेकोमा त्यो बढेर २२ करोड ३१ लाख पुगेको छ । ९ अर्ब ४२ करोडमा सीमित जीवन बिमा कोष १२ अर्ब ९ करोडको उचाईमा पुगेको छ । यस्तै, ३ करोड १२ लाखमा सीमित महाविपत्ति जगेडा बढेर ३ करोड ७२ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात १२७.१३ गुणा कायम भएको छ ।