काठमाण्डौ । एशिया प्रशान्त क्षेत्रका बैंकरहरुको छाता संस्था एशियन बैकिङ एशोसिएशन(एबीए) को ३९ औं  वार्षिक साधारणसभा तथा सम्मेलन  शुरु भएको छ ।

बिहीबारदेखि काठमाण्डौको होटल सोल्टीमा एक समारोहका बीच सम्मेलनको अर्थमन्त्री डा प्रकाशसरण महतले उद्घाटन गरेका छन् ।

सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को प्रभाव तथा रसिया युक्रेन तथा इजरायल प्यालेष्टाइन बीचको युद्धका कारण विश्वअर्थतन्त्रमा मन्दी देखिएको र त्यसको प्रभाव नेपाल लगायत एशियाली देशमा समेत प्रभाव परेको बताए ।

एशियाली देशका अर्थतन्त्रमा देखिएको साझा समस्या समाधानका लागि संयुक्त प्रयासको खाँचो रहेको उल्लेख गर्दै उनले सम्मेलनले यसका लागि ठोस सुझाव दिने अपेक्षा व्यक्त गरे ।

अर्थतन्त्र समस्यमा पर्दा त्यसको प्रभाव बैकिङ क्षेत्रमा पनि प्रभाव पर्ने उल्लेख गर्दै उनले आर्थिक बृद्धिदर बढाउन बैंकरहरुको भुमिका महत्पूर्ण हुने पनि बताए ।एशियाली देशका बैंकहरुमा हाल रिकभरी नहुनु ,खराब कर्जा बढ्नु जस्ता समान समस्या देखिएको पनि उनले बताए ।उनले इथिकल बैकिङ र रेगुलेसन लाई अक्षरस पालना गर्न पनि बैकरहरुलाई आग्रह गरे ।

सम्मेलन स्थानीय आयोजक नेपाल बैंकर एशोसिएशन(एनबीए) का अध्यक्ष सुनिल केसीले सम्मेलनबाट एशियाली क्षेत्रको बैंकमा देखिएको समस्या समाधानका लाग सम्मेलनले रोडम्याप तयार गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एशियन बैकिङ एशोसिएशन(एबीए) का अध्यक्ष यूजीन-एस एकेरेडोले एशिया क्षेत्रका बैंकहरु फाइनान्सियल टेक्नोलोजी(फिनटेक) मा केन्द्रित भएसँगै चुनौती र जोखिम पनि बढेको उल्लेख गर्दै मिलेर समाधान खोज्नु पर्नेमा जोड दिए ।

एशिया क्षेत्रका अधिकांश देशको अर्थतत्त्रको बृद्धिदर सुस्ताएको बेला बलियो बैकिङ प्रणाली स्थापित गरी आक्रामक रिकभरीमा लाग्न सके सम्बन्धित देशलाई टेवा पुग्ने पनि उनले बताए । अहिलेको जटिल अवस्थामा  एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्नेमा पनि उनले जोड दिए ।

सम्मेलनका क्रममा चार ओटा सेसन हुने र त्यसमा अन्तरराष्ट्रिय स्तरका बैंकर तथा वित्तीय वक्ताहरुको सहभागिता छ।सेसनमा डिजिटल ट्रान्सफरमेसन, ग्लोबल बैकिङ परिदृष्य, इन्भारोमेन्ट सोसियल गभरन्मेन्टलगायतका विषयमा छलफल हुने छ । सम्मेलनमा सहभागी बैंकरहरुबीच एसियाभरका बैंकहरुमा देखिएको अनिश्चितता र अन्यौलताका विषयमा समेत विशेष छलफल हुनेछ ।

आयोजक देश नेपाल भएकोले यहाँको बैंकिङ र समग्र अर्थतन्त्रको विकासका लागि ‘रिईम्याजिन इकोनोमि अफ नेपाल’ नामक विशेष सेसन समेत सञ्चालन हुनेछ । 

एबीएको सम्मेलन पहिलोपकट नेपालमा आयोजना भएको हो ।सम्मेलन आज र भोलि चल्ने छ । सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको सहभागिता छ ।