काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा साल्ट ट्रेडिङ कम्पनी(एसटीसी)को सेयरलाई बबल सेयर बनाउँदै सोझा लगानीकर्तालाई झुक्याउने खेल भएको छ ।

नेप्सेमा सूचीकृत एसटीसीको सेयरमूल्य दिनहुँ अप्राकृतिक रुपमै बढाउने काम भइरहेको देखिएको हो । 

नेप्सेको ट्रेडिङ उपसमूह अन्तर्गत रहेको यो स्क्रिप्टमा दिनहुँ मूल्य बढाउँदै प्रतिकित्ता १५ सय रुपैयाँ प्रतिकित्ता पार गरिसकेको छ । 

बिजशाला स्रोतका अनुसार सो सेयरमूल्यमा केही ब्रोकर र लगानीकर्ताले सुनियोजित रुपमै एसटीसीको सेयरमूल्य २ हजार पुर्याउन लागेको दाबी गरेको छ । बजारमा यस कम्पनीको सेयरको आपूर्ति कम रहेको हवाला पिटाउँदै सोझा लगानीकर्ताहरुलाई महङ्गोमा सेयर भिडाउन केही समूह हात धोएर लागेको छ ।

विगत २ वर्षदेखि लगातार ३५ प्रतिशत लाभांश मात्र वितरण गरेको सो कम्पनीको सेयरमूल्य अनुसार हाल सो लाभांशले समेत जस्टिफाइ नगर्ने सेयर जानकारहरु बताउँछन् । ‘उदाहरणका लागि एनएमबीले ३५ प्रतिशत लाभांश दिँदा उसको सेयरमूल्य करिब ४०० मात्र छ, जबकि बैंकलाई नेपाल राष्ट्र बैंकले प्रत्यक्ष नियमन गरी आर्थिक पारदर्शिता र संस्थागत सुशासन कायम भएका धितोपत्रहरुमा आम लगानीकर्ताहरुको विश्वास जितेको हुन्छ।’जानकारले भने–‘यो सेयरको आपूर्ति कम भएको हौवा पिटाउँदै महङ्गोमा सोझा लगानीकर्ताहरुलाई फसाउन लागिएको छ ।’ 

एसटीसीको सुरुवाती पूँजी ५ करोड रहेकोमा हाल यसको चुक्तापूँजी १५ करोड ३५ लाख ४१ हजार ८०० रुपैयाँ अर्थात नेप्सेमा यो कम्पनीको १५ लाख ३५ हजार ४१८ कित्ता सेयरमात्र सूचीकृत छन् । साल्ट ट्रेडिङ कम्पनीले वार्षिक करिब ९ अर्बको कारोबार गरेता पनि आर्थिक पारदर्शिता र संस्थागत सुशासन अनि नियमनको अभावले सो कम्पनीको यथार्थ सुखद छैन ।

सरकारको २२ प्रतिशत सेयर हिस्सा र पब्लिकको ७८ प्रतिशत सेयर हिस्सा रहेका एसटीसीले त्रैमासिक वित्तीय विवरण समेत सार्वजनिक गर्दैन, तर नेप्सेलाई भने त्रैमासिक रिपोर्ट गोप्य रुपमा दिने गरेको स्रोत दाबी गर्छ । यसरी अनियमितता र नियमन नभएका सेयरमूल्यमा चलखेलको शिकार भने सोझा लगानीकर्ताहरु नै पर्दै आइरहेका छन् । 

स्मरण रहोस् यसअघि पनि बिजशालाले शिवम् सिमेन्टको सेयरमूल्यमा अप्राकृतिक चलखेल भइरहेको भण्डाफोर गरिसकेको छ । करिब ४०० रुपैयाँ प्रतिकित्ता सेयरमूल्य रहेकोमा त्यसलाई बढाएर १ हजार रुपैयाँ प्रतिकित्ता पुर्याउने चलखेल नै निस्तेज भएको थियो भने हाल पनि बजारमा सक्रिय लगानीकर्ताहरु ७०० रुपैयाँमा फसेको गुनासो गर्दै आएका छन् । 

सिमेन्टको सेयरमूल्यमा चलेको प्राइसवार र विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम १ अर्ब रुपैयाँ बढीले कम्पनीको नाफामा गिरावट आउने नै भयो अनि लगानीकर्तालाई लाभांशमा पनि भारी गिरावट आउने पक्कै हो ।

यसरी बजारमा सक्रिय टाठाबाठाले कुनै स्क्रिप्टमा चलखेल गर्दा सो कम्पनी, कम्पनीको ग्रोथ र भविष्यको विस्तृत विश्लेषण गरेर मात्र लगानीको निर्णय बुद्धिमतापूर्ण हुनेछ । नत्र उचालिएर किनिएको सेयरले भोलिका दिनमा पुर्पुरोमा हात राख्नु बाहेक अर्को विकल्प हुने छैन ।