काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । यो दिन इण्डेक्स ५.४२ अंकले घटेर ११८०.४३ को विन्दूमा सीमित हुन पुगेको हो । 

यो दिन २५ करोड बढीको सेयर कारोबार भएको छ । 

मुद्रा तथा पूँजीबजारको सुधारका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलले पेश गरेको प्रतिवेदनमा समेटिएका अधिकांश सुझावहरुलाई कार्यान्वयन गरी नेपाल राष्ट्रबैंकले बजारमा उत्साह ल्याउन खोजे पनि अन्य केही कारणले बजारमा बिक्री चाप बढाइदिएको हो । 

पछिल्लो समय लगातार बजार घटिरहनु पछाडिको मुख्य कारण दोश्रो त्रैमासको मसान्तसम्म बुझाउनुपर्ने करको भार, नेपाल राष्ट्रबैंकले व्यक्तिगत ओडीमा गरेको संकुचनको सीमालाई पुससम्म कायम गर्नुपर्ने व्यवस्था, बजारमा रहेको सेयरको अधिक आपूर्ति र पूँजीबजार सुधारका लागि कोशेढुंगा बन्छ भन्ने ठानिएको अनलाइन कारोबार प्रणालीमा भएको चरम लापरबाही र यसबाट लगानीकर्ता निरुत्साहित बन्नु लगायतलाई हेरिएको छ। 

नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुबाट पर्सन ओडी(ओभरड्राफ्ट) कर्जाको सीमा मौद्रिक नीतिमार्फत ७५ लाखबाट झारेर ५० लाख कायम गरिदिएको थियो । राष्ट्रबैंकले एक निर्देशनमार्फत ७५ लाखको सीमा छँदा लिइएको ऋण समेत घटाएर ५० लाख कायम गर्न भन्दै पुस मसान्तसम्मको समय दिएको थियो । सेयर बजारका धेरै ठूला लगानीकर्ताले व्यक्तिगत ओडी कर्जा लिएर लगानी गरेका छन् । राष्ट्रबैंकको यो व्यवस्थाले पुस मसान्तभित्रै आफ्नो अधिक सीमा कटौति गरी ५० लाखमा कायम गर्नुपर्ने दवाबले बजारमा बिक्री चाप बढाइदिएको विश्लेषकहरु बताउँछन् । 

पुस मसान्त(दोश्रो त्रैमास)मा हुने कर तथा ब्याज भुक्तानीको चापले समेत बजारमा बिक्रीको चाप बढाइदिएको बताइएको छ । 

यो दिन व्यापार समूह २.७९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह ६.५९ अंकले बढेको छ । 

बाँकी सबै समूहको सूचक घटेका छन् । बैंकिङ समूह ४.४४ अंकले घटेको यो दिन होटल समूहमा ५.७९ अंक, विकास बैंक समूहमा ३.०१ अंक, जलविद्युत समूह १२.६२ अंक, बित्त समूह ०.८६ अंक, निर्जीवन बिमा समूहमा ८.४३ अंक, उत्पादनमूलकमा ९.२१ अंक, जीवन बिमा समूह ६८.३९ अंक र अन्य समूह ५.६८ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ७ लाख ५१ हजार ४ सय ११ कित्ता सेयर २५ करोड ७६ लाख ७ हजार १ सय ६६ रुपैयाँमा किनबेच भएको छ।

यो दिन सबैभन्दा बढी चिलिमे जलविद्युत आयोजनाले २ करोड २८ लाख बढीको कारोबार गरेको छ । 

यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४१ लाख, छिमेक लघुवित्त विकास बैंकले १ करोड २३ लाख, एनएमबी बैंकले ९९ लाख, जनता बैंक नेपालले ८४ लाख, कालिका लघुवित्त वित्तीय संस्थाले ८४ लाख, सिद्धार्थ बैंकले ८१ लाख, एनआइसी एशिया बैंकले ७३ लाख, प्रभू बैंकले ६२ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ६२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कालिका लघुवित्तका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले पनि ९ प्रतिशतको हाराहारीमा आफ्नो सम्पत्ति बढाए । 

यो दिन अरुण काबेली पावर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा गिरावट आयो ।