काठमाण्डौ । बिक्री घटेर चौपट बनेको र त्यसले वित्तीय विवरण हिट भएपछि दोश्रो बजारमा क्रेज घट्दै गएको शिवम सिमेन्टको भविष्य थप बिग्रिनसक्ने देखिएको छ । 

यो सिमेन्ट कारखाना त्यसै पनि सञ्चालन खर्च बढेका कारण सकसमा छ । विकास निर्माणका काम सुस्त हुँदा सिमेन्ट बिक्री प्रभावित भएका कारण नाफामा पहिरो गएकै समयमा कम्पनीका लागि २ अर्ब बढीको थप दायीत्व सिर्जना भएको छ । 

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले सार्वजनिक गरेको एक तथ्यांकअनुसार शिवम सिमेन्टले प्राधिकरणलाई विद्युत महसुल र जरीवाना समेत गरी साउन अन्तिमसम्म कुल २ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ । पटक पटक ताकेता गर्दा पनि शिवम्ले महसुल नतिरेपछि कम्पनीलाई कालोसूचीमा राख्न खोजिए पनि अदालतको अवरोधका कारण नसकिएको विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले जनाएको छ । 

चालु आर्थिक वर्षको साउन महिनासम्मको तथ्यांकअनुसार हेटौडा वितरण शाखाले २ अर्ब ३७ करोडभन्दा बढी विद्युत महसुल उठाउन बाँकी छ । योमध्ये शिवम सिमेन्ट उद्योगले मात्रै २ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी रहेको हो । यो महसुल २७२ सालदेखि २०७५ सालसम्मको हो, जुन पटक पटक ताकेता गर्दा पनि भुक्तानी नभएको केन्द्रले जनाएको छ । 

हाल शिवम सिमेन्टको कारखाना हेटौडा उपमहानगरपालिका वडानम्बर १६ स्थित हटिया क्षेत्रमा रहेको छ । कम्पनीले उद्योग सञ्चालका लागि छुट्टै विद्युत प्रसारण लाइन माग गरेपछि सो बेला प्राधिकरणको कमाने उपकेन्द्रबाट डेडिकेटेड फिडर उपलब्ध गराइएको थियो ।

शिवमले लगातार तीन वर्षसम्म डेडिकेटेड फिडर लिएर विद्यूत उपभोग गरेको थियो । जसको महसुल रकम रु. १ अर्ब २१ करोड पुगेको थियो । हाल जरीवाना समेत जोडिएर २ अर्ब २४ करोड पुगेको हो । 

त्यसो त शिवम सिमेन्टले आफूले उपभोग गरेको विद्युतबापतको महसुल तिर्न नपर्ने जिकिरसहित अदालतको ढोका ढकढक्याएको थियो । तर, सर्वोच्च अदालतले २०७५ सालमै विद्युत महसुल उठाउन विद्युत प्राधिकरणको नाममा परमादेश जारी गरेको थियो । त्यसपछि पनि शिवम्ले महसुल नतिरी अटेर गर्दै आइरहेको छ । उसले महसुल नतिरे पनि कारबाही भने हुन सकेको छैन । 

नेपाल प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले बिजशालासँग कुरा गर्दै हाल शिवम्ले महसुल नतिरेको मुद्दा जिल्ला अदालत मकवानपुरमा विचाराधीन छ । अदालतलाई प्रयोग गरेर शिवमका सञ्चालकहरु लाइन काटिनबाट जोगिएका छन् । अदालतमा विचाराधीन मुद्दा भएका कारण प्राधिकरणले शिवमलाई कालोसूचीमा राख्न पनि सकेको छैन ।  

तर, प्राधिकरणस्थित अन्य स्रोतहरुले भने अदालतबाट जुनसुकै बेला शिवमको विपक्षमा फैसला आउनसक्ने बताएको छ । त्यसो भएको खण्डमा अदालतको प्रयोग गरी २ अर्ब बढी महसुल नतिरी अटेर गर्दै आएको शिवमलाई नयाँ आर्थिक संकट आइपर्नेछ । 

बिग्रिएको वित्तीय स्वास्थ्य
आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमाससम्ममा शिवम सिमेन्ट्सको वित्तीय स्वास्थ्य अत्यासलाग्ने गरी बिग्रिएको छ । यो अवधिमा कम्पनीको खूद नाफा खुम्चिएर ३० करोड २४ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ६९ करोड भन्दा बढी थियो । 

सञ्चालन आम्दानी पनि ९ अर्ब २६ करोडबाट घटेर ७ अर्ब ७५ करोडमा सीमित बन्न पुगेको छ । 

यो कम्पनीको हालको कुल दायीत्व मात्रै २ अर्ब ४५ करोड बढी छ । 

कुल ४ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख बढी रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी खुम्चिएर ६.८७ रुपैयाँमा सीमित बन्न पुगेको छ । प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ हाराहारी मात्रै छ । 

कम्पनीले कुल आयमा जति रकम उल्लेख गरेको छ, त्यसमध्ये ३० करोड बढी सहायक कम्पनी शिवम होल्डिंग्सबाट आएको हो । यो रकम समेत घटाएर हेर्दा शिवम् सिमेन्टको आफ्नो मात्रै आम्दानी, बिक्री, नाफा चौपट बनेको देखिन्छ । 

यही बेला विद्युत महसुल समेत तिर्नुपर्ने अवस्था आए यसले कम्पनीको वित्तीय स्वास्थ्य थप खराब हुने र लगानीकर्ताले केही वर्ष रिटर्न आशा गर्न नहुने अवस्था सिर्जना हुनसक्छ । 

 

लगानीकर्ताको निरन्तर रातो झण्डा
शिवम सिमेन्टको सेयरमूल्य दोश्रो बजारमा जोखिमपूर्ण अवस्थामा पुगेको थियो । तर, केही राम्रो वित्तीय विवरण आउने हल्ला चलाएर खेलाडीहरुले मूल्यलाई केही समय उचाल्ने काम गरे । फलस्वरुप प्रतिकित्ता ४०० रुपैयाँ हाराहारीमा रहेको शिवमको दोश्रो बजार मूल्य बढेर ६६२ रुपैयाँसम्म पुग्यो । तर, मूल्य बढाएर चौथो त्रैमासको वित्तीय विवरण आउनुअघि खेलाडीहरुले यो कम्पनीको सेयर सर्वसाधारणलाई भिडाएर बजारबाट बाहिरिए । जब खराब वित्तीय विवरण प्रकाशन भयो, त्यसपछि भने कम्पनीको सेयरमूल्य लगातारजसो घटिरहेको छ ।

हाल यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३६ रुपैयाँसम्म आइसकेको छ । विश्लेषकहरुले मूल्य अझै घट्नसक्ने प्रक्षेपण गरिरहेका छन् । 

यो कम्पनीको मूल्य थप उचालिने भरपर्दो आधार र कारण पनि देखिएको छैन । त्यसकारण महंगोमा शिवमको सेयर किनेर होल्ड गर्नेहरु अहिले बिलखबन्दमा छन् ।