काठमाण्डौ । ओरिएन्टल होटल लिमीटेड(र्‍याडिसन)ले आफ्ना सेयरधनीलाई २० प्रतिशत सेयर र ६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

होटलको भदौ २६ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट कुल २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

संचालक समितिबाट घोषित लाभांश सम्बन्धी प्रस्ताव आगामी असोज १९ गते बोलाइएको कम्पनीको वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । वार्षिक साधारणसभाका लागि कम्पनीको बुक क्लोजको मिति असोज ६ लाई तोकेको छ । असोज ५ गतेसम्म यो होटलको सेयर आफ्नो नाममा नामसारी  गरेकाहरुले घोषित लाभांश प्राप्त गर्ने बताइएको छ । 

ओरिएन्टल होटल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा १ अर्ब १७ करोड खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ६ अर्ब  ५९ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।