काठमाण्डौ । ओरिएन्टल होटल लिमीटेडले सेयर स्वामित्व संरचना परिवर्तनका लागि  प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले आगामी कात्तिक १२ गते  आह्वान गरेको २१ औं वार्षिक साधारणसभामा एफपीओ निश्कासनको विशेष प्रस्ताव लैजाने भएको हो । सभामा प्रिमियम मूल्यमा एफपीओ निश्कासनको प्रस्ताव लगिने र त्यहाँबाट पारित भएपछि नियामकको स्वीकृति लिई एफपीओ निश्कासन गरिने कम्पनीले जनाएको छ । 

एफपीओपछि कम्पनीमा संस्थापक सेयर हिस्सा ५५  प्रतिशत र साधारण सेयरधनीको ४५ प्रतिशत हुने बताइएको छ । 

हाल कम्पनीको चुक्तापुँजी हाल ९३ करोड ९२ लाख रुपैयाँ छ । दोश्रो बजारमा कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु.५४० रहेको छ ।

वार्षिक साधारणसभामा यसअघि संचालक समितिबाट भएको प्रस्ताव अनुसार १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा समेत पेश हुने बताइएको छ । 

पाँचतारे र्याडिसन होटल संचालन गरिरहेको कम्पनीले जाउलाखेलस्थित स्टाफ कलेजमा साधारणसभा आह्वान गरेको हो ।