काठमाण्डौ । कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३७ महिनाअघिकै उच्च विन्दूमा पुगेको छ । 

सन् २०१४ डिसेम्बरपछि कच्चा तेलको मूल्य पहिलोपटक प्रति ब्यारेल ७१ डलरको उचाईमा पुगेको हो ।

कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिपछि भारतमा पेट्रोल डिजेलको मूल्य बढेको छ भने त्यसको प्रभाव नेपाली बजारमा समेत पर्ने निश्चित छ । भारतबाट आयात हुने पेट्रोल डिजेलको मूल्य नेपालमा अझै बढ्ने स्पष्ट संकेत देखिइसकेको छ । 

यसरी पेट्रोल डिजेलको मूल्य लगातार वृद्धि भएपछि सामान्य मानिसको गोजीमा समेत त्यसको असर देखिन थाल्नेछ ।

क्रूड आयल(कच्चा तेल)को मूल्यमा लगातार भइरहेको वृद्धिले तेल आयातकर्ता मुलुकहरुको बजेट समेत खलबलिने चिन्ता बढेको छ भने ती देशहरुको भुक्तानी सन्तुलन  पनि खलबलिन सक्नेछ । बितेको ७ महिनको कुरा गर्ने हो भने क्रूड आयलको मूल्यमा ५९ प्रतिशतको बढोत्तरी भइसकेको छ ।

सन् २०१७ को जून महिनामा क्रूड प्रतिब्यारेल ४४.४८ डलरमा सीमित थियो । 

किन बढिरहेको छ भाउ ?
विज्ञका अनुसार अमेरिकामा लगातार १० हप्तासम्म कच्चा तेल उत्खनन्मा कमी आएको छ । यस्तै, डलर लगातार कमजोर बनिरहेको छ, जसको असर क्रूड  आयलको मूल्यमा  प्रतिबिम्बित भइरहेको छ ।

अर्कोतर्फ, तेल उत्पादक देशहरुको  संगठन ओपेकमा आबद्ध देश बाहेक रुसमा समेत तेल उत्पादनमा कमी आएको छ । यो कारण आपूर्तिमा समेत कमी  भइरहेको छ । उच्च माग र कम आपूर्तिका कारण मूल्य लगातार उकालो लागिरहेको छ ।

असर के हुन्छ ?
तेलको भाउ बढेसँगै नेपालजस्तो देशको व्यापार घाटा अझ माथि पुग्नेछ । खासमा नेपालले आफूलाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाटै खरीद गर्छ । भाउ बढ्दा भारतसँगको व्यापार घाटा अझ चुलिनेछ । यस्तै, तेलको मूल्यमा वृद्धिसँगै देशमा महङ्गी बढ्ने त्रास हुन्छ । नेपाल राष्टबैंकको चालु आर्थिक वर्षको ५ महिनाको आर्थिक परिदृश्यको समीक्षा रिपोर्टमा समेत महंगी बढिरहेको देखिएको छ, यसको मुख्य कारण लगातार बढिरहेको पेट्रोलियम मूल्य पनि हो । 

तेलको भाउ वृद्धिसँगै ढुवानी तथा यातायात खर्च बढ्ने र यसले वस्तुहरुको मूल्य तथा उत्पादन लागत समेत उच्च भई महंगी बढाउन बल पुग्ने विश्वास गरिन्छ ।