काठमाण्डौ । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रस्ट पारेका छन्। 

नेपाल राष्ट्र बैंकले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंकाजस्तो नेपालको अर्थतन्त्र हुनेमा कुनै सत्यता नरहेको बताएका हुन्। ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ। किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’, उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन।’

नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंकाको जस्तो नहुने शर्माको भनाइ थियो। ‘हाम्रो ऋण र उत्पादनको अवस्था, बिदेशी लगानी, ऋण सहायतालगाायतका तथ्यांक हेर्यौँ भने श्रीलंकासँग तुलना नै हुन सक्दैन’, उनले भने, ‘तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन्। त्यसको तपाइँ हामी सबै मिलेर खण्डन गर्नुपर्छ।’

श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न शर्माले अपिल गरे। ‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका बिषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथी उठाउनका लागि बहस गरौँ’, उनले भने। 

क्रिप्टोकरेन्सी, हाइपर फन्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि शर्माले बताए। ‘तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको छ’, उनले भने, ‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन। यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ।’

अर्थतन्त्र यतिबेला दबाबमा रहेको उल्लेख गर्दै शर्माले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए। काम गर्ने परम्परागत शैली लाई परिवर्तन गरेरमात्रै अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो। 

मुलुकभित्र भएका स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुकभित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको शर्माले बताए। 

वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको शर्माले जानकारी दिए। कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनको भनाइ छ।