काठमाण्डौ । पछिल्लो समय साना विकास बैंक तथा फाइनान्स कम्पनीमा विभिन्न हल्ला फैलाएर अचाक्ली मूल्य बढाई साना र सोझा लगानीकर्ताहरु फसाउने प्रवृत्ति सेयर बजारमा बढ्दै गएको छ।
आकर्षक लाभांश र हकप्रद निष्कासनको हल्ला चलाएर त्यस्ता कम्पनीको सेयरभाउ उचाली साना र सोझा लगानीकर्तालाई भिडाउने काम भइरहे पनि सम्बद्ध निकाय तै चूप मै चूप देखिन्छन ।
नियामक निकाय नेतृत्वविहीन हुनु, ती निकायबाट बजारमा बढ्दो विकृति नियमन र अनुगमन गर्ने काम ठप्प हुनु, सेयरको भित्री कारोबार र खुलमखुला कर्नरिङ भइरहँदा पनि नियामक मौन बस्नुजस्ता कारणले पछिल्लो समय त्यस्ता कम्पनीमा उचालिएर वा लहै लहैको पछि लागेर लगानी गर्नेहरु अहिले पुर्पुरोमा हात राखेर बस्न बाध्य बन्ने अवस्था बनेको छ ।
पछिल्लो उदाहरणका रुपमा नारायणी डेभलपमेन्ट बैंक (जुन राष्ट्र बैंकको लामो समय कारबाहीमा परेको थियो), कर्पोरेट डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्सजस्ता कम्पनीलाई लिन सकिन्छ। यीमध्ये नारायणी र कर्पोरेट डेभलपमेन्ट बैंकले अहिलेसम्म लगानीकर्तालाई एक कित्ता सेयर पनि लाभांश रुपमा दिएका छैनन् ।
उता गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७१/७२ एकपटकमात्रै ७ प्रतिशत बोनस सेयर वितरण गरेको देखिन्छ।
कमजोर वित्तीय प्रदर्शन गरिरहेका यी कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशतदेखि १८० प्रतिशतसम्म हकप्रद भिडाउँदै आएका छन्। यस्ता कम्पनीको मूल्यलाई बजार बढ्दा खेलाडीले उचाल्ने र दैनिक मूल्य बढेको देखेर किन्ने नयाँ लगानीकर्ता नाफा हुने आशमा उल्टै फस्ने गर्छन् ।
हालै सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हेर्दा यी कम्पनीहरुको वित्तीय प्रदर्शन झनै निराशाजनक देखिएको छ।
नारायणी डेभलपमेन्ट बैंकले समीक्षा अवधिसम्म बैंकले ५९ लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ८४ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिसम्म बैंकलाई ५९ लाख ९८ हजार सञ्चालन घाटा भएको छ। गत वर्ष पनि यही अवधिसम्म बैंकले ८४ लाख २५ हजार सञ्चालन घाटा भएको थियो।
दोस्रो त्रैमाससम्म बैंकले १६ लाख ८६ हजार खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकलाई २ लाख ५३ हजार रुपैयाँ खुद ब्याज घाटा भएको थियो।
चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.६१ प्रतिशतले घटेर १७ करोड ८ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १८ करोड २७ लाख रुपैयाँ रहेको थियो।
बैंकको निष्क्रिय कर्जा अनुपात(एनपीएल) व्यापक सुधार गर्दै ४.६० प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४४.९७ प्रतिशत रहेको थियो।
बैंकको ईपीएस ४.५७ रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ ६१.१५ रुपैयाँ रहेको छ। यही बैंकको दोश्रो बजार मूल्य भने प्रतिकित्ता १ हजार आसपास पुर्याइसकिएको छ । हाल भने यो कम्पनीको मूल्य प्रतिकित्ता ६१० रुपैयाँ रहेको छ ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले समीक्षा अवधिसम्म बैंकले ३० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७५.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४० लाख ८३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४१ लाख ७७ हजार सञ्चालन मुनाफा गरेको थियो।
दोस्रो त्रैमाससम्म बैंकले १ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ करोड ३२ लाख रुपैयाँ रहेको थियो।
बैंकले निष्क्रिय कर्जा दर (एनपीएल) सुधार गर्दै ३.६६ प्रतिशतमा झारेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४.२५ प्रतिशत रहेको थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.५१ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ३०.८६ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ १४६.१९ रुपैयाँ रहेको छ। तर, बिडम्बना दोश्रो बजारमा यही कम्पनीको सेयरमूल्य भने राम्रा इपीएस हुने कम्पनीको भन्दा पनि निकै बढी छ । प्रतिकित्ता ६ सय रुपैयाँभन्दा बढीमा यो कम्पनीको सेयर कारोबार भइरहेको छ ।
दोस्रो त्रैमाससम्म गोर्खाज फाइनान्सको ईपीएस ४.४६ रुपैयाँमा सीमित बन्न पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको ईपीएस ३९.२५ रुपैयाँ थियो।
कम्पनीको नाफामा निकै भीषण पहिरो गएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँ रहेको नाफा घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ।
कम्पनीको सञ्चालन मुनाफामा झनै ठूलो पहिरो गएको छ। अघिल्लो वर्षको यही अवधिसम्म २४ करोड ३३ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष ३ करोड १५ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ।
व्यवसाय विस्तारमा समेत कम्पनी असफल बन्दा अघिल्लो वर्षको यही अवधिमा १३ करोड ७३ लाख रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ६ करोड १९ लाखमा सीमित बन्न पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार घटेको छ भने ‘रिटेन अर्निङ’ पनि नेगेटिभ भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म ७५ करोड ६४ लाख रहेको रिजर्भको आकार खुम्चिएर यो वर्ष ७० करोड ४८ लाखमा सीमित बन्न पुगेको छ। रिटेन अर्निङ १७ करोड १ लाखले नेगेटिभ छ। तर, अचम्म यति कमजोर भई डूब्ने अवस्थामा पुगेको यो कम्पनीको दोश्रोबजार मूल्य भने खेलाडीहरुले निकै माथि पुर्याएका थिए । प्रतिकित्ता १५०० रुपैयाँ हाराहारी पुर्याएका यो कम्पनीको मूल्य अहिले पनि ८०० माथि रहेको छ । अत्यन्त खराब वित्तीय अवस्था आउँदा पनि खेलाडीहरुले खेल गरी यो कम्पनीको मूल्य घट्नै दिएका छैनन् । यिनै खेलाडीको चंगुलमा परेर सोझा लगानीकर्ता यस्तै कम्पनीको सेयरमा फस्ने गरेका छन् ।
त्यसो त अधिकांश सेयर लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्दा हेर्ने महत्वपूर्णमध्येको एक सूचक ईपीएस नै हो। ईपीएस निकै कमजोर देखिएका यस्ता कम्पनीको भाउ कसरी बढिरहेको छ ? त्यो प्रस्ट देखिन्छ।
पछिल्लो १ वर्षको बजारभाउ हेर्ने हो भने नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता गत अगस्ट ३१ यो बैंकको सेयरभाउ ११५९ रुपैयाँसम्म पुगेको देखिन्छ। बारम्बार लगानीकर्तालाई हकप्रदको बोझ थपिरहेको यो बैंकको हिजोको सेयरभाउ ६१० रुपैयाँ रहेको छ। यसरी उक्त उच्च मूल्यमा किनेकाहरुको लगानी नराम्ररी फसेको प्रस्ट हुन्छ।
यसैगरी गत अगस्ट ३१ मै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ ११३० रुपैयाँसम्म पुगेको देखिन्छ। आइतबार यो कम्पनीको सेयरभाउ ६३० रुपैयाँ रहेको छ। यसमा साना लगानीकर्ता फसेकोमा द्विविधा देखिँदैन।
गत अगस्ट २५ गोर्खाज फाइनान्सको सेयरमूल्य १४४३ सम्म पुगेको देखिन्छ। आइतबार यो कम्पनीको सेयरभाउ ८२५ रुपैयाँ रहेको छ।
यी त उदाहरणमात्रै हुन्। बढ्दो बजारमा यस्ता अन्य केही कम्पनीहरु पनि छन्, जसलाई खेलाडीहरुले उचालेर साना र सोझालाई फसाउने काम गरिरहेका छन्। विशेष गरी साना विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस्ता खेल खुलेआम खेलिए पनि कसैको ध्यान पुग्न सकेको छैन । खेलाडीले यिनै थोरै कित्ता भएका कम्पनीमा निस्फक्री खेलिरहेका छन्, सोझा लगानीकर्ता पनि डूबिरहेका छन् । तर, ती लगानीकर्ताको हित चाहने संघसंगठन बोलेका छन्, न त नियामक वा अन्य सम्बद्ध निकाय नै ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19