– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सेयर कारोबारबापत लगानीकर्ताबाट धितोपत्र दलाल कम्पनी (ब्रोकर) र आफूले लिँदै आएको कमिसन १० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। यद्यपि, यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्रै कार्यान्वयनमा आउनेछ। 

धितोपत्र बोर्डको कमिसन घटाउने निर्णयप्रति स्टक ब्रोकरहरुले भने असन्तुष्टि जनाएका छन्। नयाँ ब्रोकरहरुको छाता संगठन  धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष सागर ढकालले धितोपत्र बोर्डले बिनाअध्ययन नै ब्रोकर कमिसन घटाउने निर्णय गरेको बताए। ‘हामीले १ वर्ष हेर्नुहोस्, हामी भर्खरै आएका छौँ भनेका थियौँ। तर, धितोपत्र बोर्डका अधिकारीहरु मान्नुभएन।’

‘हामी आउनेबित्तिकै कमिसन घटाउने निर्णय भएको छ, यो राम्रो भएन’, ढकालले भने, ‘धितोपत्र बोर्डले कमिसनका विषयमा अध्ययन गर्न कमिटी पनि बनाएको थियो। तर, कमिटीले हामीलाई छलफलमा बोलाएन। त्यसैले हामी धितोपत्र बोर्डको यो निर्णयप्रति असन्तुष्ट छौँ।’

एक पुराना ब्रोकर सञ्चालकले पनि बिनाअध्ययन ब्रोकर कमिसन घटाउनु न्यायोचित नभएको बताए। ‘हालको परिस्थितिबारे बुझेर निर्णय लिनुपथ्र्यो तर धितोपत्र बोर्डले त्यसो गरेन’, ती सञ्चालकले भने, ‘ब्रोकर कमिसन घटाउने निर्णयप्रति हामी असन्तुष्ट छौँ।’ 

लागानीकर्ताले भने धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने गरेको निर्णयलाई स्वागत गरेका छन्। 

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको कुरा धितोपत्र बोर्डले पूरा गरिदिएको बताइन्। ‘लामो प्रयासपछि ब्रोकर कमिसन घटाउने निर्णय भएको छ, यो सकारात्मक पक्ष हो’, उनले भनिन्, ‘हामीले ब्रोकर कमिसन घटाउन लामो समयदेखि धितोपत्र बोर्डलाई आग्रह गर्दै आएका थियौँ। आज सम्बोधन भएको छ। यो निर्णयलाई आमलगानीकर्ताले स्वागत गरेका छन्।’

कमिसन घट्दा साना लगानीकर्तालाई हित हुने पोखरेलको भनाइ छ। ‘नेप्से र सीडीएससीको कमिसन पनि घटाउनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भनिन्, ‘हामीले डीपी फी पनि घटाउन भनेका थियौँ।’

यसअघि पनि धितोपत्र बोर्डले २०७७ साल पुस महिनामा ब्रोकर कमिसन घटाएको थियो। जसअनुसार हालको ब्रोकर कमिसन ५० हजार रुपैयाँसम्मको सेयर कारोबारका लागि ब्रोकर कमिसन ०.४० प्रतिशत तोकिएको छ। ५० हजार रुपैयाँदेखि माथि  ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि माथि १ करोड रुपैयाँसम्मको कारोबार गर्दा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथि जतिसुकै रकमको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन तोकिएको छ।