– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज (बजार सञ्चालक) र कमोडिटिज एक्सचेन्ज (वस्तु विनिमय बजार)को लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन आज (वैशाख १० गते) अन्तिम दिन रहेको थियो।  अन्तिम दिनसम्म नयाँ स्टक एक्सचेन्जमा ३ वटा र कमोडिटिज एक्सचेन्जमा ४ वटा आवेदन परेका छन्।

सेबोनका अनुसार नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ। कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि भने म्याक्स नेपाल, मल्टी डेरिभेटिभ, हिमालयन कमोडिटी र नेपाल मल्टी कमोडिटीको आवेदन परेको छ।

अब सेबोनले आवश्यक प्रक्रिया पूरा गरी योग्य एउटा कम्पनीलाई स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स दिनेछ। 

हालसम्म नेपालको बजारमा कमोडिटिज एक्सचेन्ज सञ्चालनमा आएको छैन स्टक एक्सचेन्जका रुपमा भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा रहेको छ। अब अर्को कम्पनीले स्वीकृति पाउने हो भने नेपालमा दुईवटा स्टक एक्सचेन्ज सञ्चालन हुनेछन्। 

कमोडिटिज भन्नाले के बुझिन्छ ?

कमोडिटिज अर्थात वस्तु विनिमय भन्नाले त्यस्ता ब्रान्डिङ नगरिएका वस्तुहरु हुन्, जसलाई उत्पादन, किनबेच र उपभोग गर्न सकिन्छ। उदाहरणका लागि गहुँ, सुन, चाँदी, कच्चा तेल, तामा, चिया, कफी आदिको किनबेच हुन्छ। यस्तो किनबेच विद्युतीय माध्यमबाट उपभोक्ताकोमा पुग्ने गरी गरिन्छ। विदेशमा गहुँ, तेल, सुन, चाँदी आदि कारोबार भए पनि नेपालमा यसरी चिया, कफी, अलैँची, तरकारी, सुन्तला, धानजस्ता वस्तु किनबेच हुन सक्छ। 

कमोडिटिज मार्केट भनेको के हो ? 

क्रेता र बिक्रेता एकै ठाउँमा भेला भएर वा नभएर तत्काल वा भविष्यमा हस्तान्तरण गर्ने गरी वस्तुको किनबेच गर्ने स्थान वा प्रणालीलाई कमोडिटिज एक्सचेन्ज भनिन्छ। यस्ता बजार २ प्रकारका हुन्छन् । 

१. हाताहाती बजार (अन द स्पट मार्केट)

यो बजारमा तत्काल वस्तु हस्तान्तरण हुने गरी गरिने कारोबार वा बजारलाई हाताहाती कारोबार वा स्पट बजार पनि भनिन्छ। उदाहरणका लागि कुनै समान बजारमा गएर पैसा तिरेर ल्याइन्छ भने हाताहाती कारोबार भनिन्छ। यस्तो बजारमा वस्तुको मूल्य र गुणस्तर तत्काल जाँच गरिन्छ। यो बजारमा वस्तुको मूल्य तत्कालको बजार मूल्यलाई आधार मानिन्छ भने भविष्यमा मूल्य परिवर्तनले कुनै असर पार्दैन। वस्तुको कारोबार तथा किनबेच आजै तय गरेर भविष्यको कुनै समयमा हस्तान्तरण हुने गरी पनि क्रेता र बिक्रेताबीच सम्झौता पनि हुन सक्छ।

२. भविष्यको बजार (फ्युचर मार्केट) 

भविष्यमा कुनै समयमा आजै निर्धारण गरिएको गुणस्तर, मापदण्ड, परिणाम र स्थानमा वस्तु वा सम्पत्ति हस्तान्तरण गर्ने जारलाई भविष्यको बजार भनिन्छ। उदाहरणका लागि गाउँघरतिर सुन्तला नपाक्दै गरिएको व्यापारी र किसानबीचको सम्झौता तथा धान खरिदका लागि गरिएको धान व्यापारी र किसानबीचको सम्झौतालाई बुझ्नुपर्छ। यो बजार पनि संगठित र असंगठित दुई प्रकारका हुन्छन्। कमोडिटिज मार्केटसँगै अ नेपालमा डेरिभेटिभ मार्केट पनि सुरु हुनेछ ।