काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कमोडिटिज स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ। 

सेबोनको सोमबार बसेको सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १–१ जना र सेबोनबाट २ जना सदस्य छन्। 

समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशन मुकुन्दकुमार क्षेत्री, सेबोनका कार्यकारी निर्देशन एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठ र सेबोनका उपकार्यकारी निर्देशन दीपा दाहाल छन्। 

समितिले कमोडिटिज एक्सचेन्जलाई अनुमति दिने कम्पनी छनोट गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

सेबोनमा कमोडिटिज एक्सचेन्जका लागि ४ वटा कम्पनीको आवेदन परेको छ। जसमा मल्टी डेरिभेटिभ एक्सचेन्ज, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज छन्। 

सेबोनले २ वटालाई मात्रै कमोडिटिज एक्सचेन्ज सञ्चालनको अनुमति दिनेछ।