काठमाण्डौ । नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको कमोडिटिज एक्सचेन्ज अझै १ वर्ष नआउने देखिएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)का एक अधिकारीका अनुसार भर्खर आवेदन मागिएको र कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउने प्रक्रिया लामो र झन्झटिलो भएका कारण पनि तत्काल आउने सम्भावना नरहेको बताए। ‘हामीले भर्खरै आवेदन मागेका छौँ’, ती अधिकारीले भने, ‘नयाँ कमोडिटिज एक्सचेन्जका लागि सबैभन्दा पहिले परेका आवेदनबाट २ वटा कम्पनीलाई अनुमति दिनुपर्ने हुन्छ। त्यसपछि सिस्टम पनि ल्याउनुपर्यो। छनौट भएका कम्पनीहरुले कारोबारको मोडालिटी पेस गरेपछि के–कसरी कारोबार हु्ने भन्ने विषय हुन्छ।’ 

सबै विषय मिल्दा र मिलाउँदा नेपालमा कमोडिटिज एक्सचेन्ज सञ्चालन आउन १ वर्षभन्दा बढी समय लाग्न सक्ने ती अधिकारी बताउँछन्। 

कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि म्याक्स नेपाल, मल्टी डेरिभेटिभ, हिमालयन कमोडिटी र नेपाल मल्टी कमोडिटीले सेबोनमा आवेदन दिएका छन्। सेबोनले आवश्यक प्रक्रिया पूरा गरी योग्य दुई कम्पनीलाई कमोडिटिज एक्सचेन्जको लाइसेन्स दिनेछ। कमोडिटिज बजारमा के–के वस्तु र कसरी कारोबार हुने भन्ने विषयमा भने सेबोनका अधिकारीहरुले अध्ययन गरिरहेका छन्।