-भक्तराज रसाइली 
काठमाण्डौं । सेयर बजारमा लाभांश तथा हकप्रदसम्बन्धी निर्णय परिवर्तनले अनधिकृत चलखेलले चरम रुप धारण गरिरहेको छ । कम्पनीले खुलेआम भित्री कारोबारलाई सहयोग पुग्ने गरी चरम लापरबाही र सूचनामा चलखेल गर्दा समेत उनीहरुमाथि कडा कारबाही हुन सकेको छैन । 

बरु, नेप्सेको प्रष्टीकरणको निरन्तरतासँगै पछिल्लो समय सूचिकरण विनियमावली उल्लंघन गर्ने, नेप्सेलाई नै अटेर गर्ने प्रवृति सूचिकृत कम्पनीहरुमा तीव्र बन्दै गएको देखिन्छ । 

पछिल्लो अवस्थामा त नेप्सेको वेबसाइटमा जारी गरिने यस किसिमका सूचनाका आधारमा सूचीकृत कम्पनीहरुको कारोबार रोक्काको निरन्तरता प्रायः दिनहँु भइरहेको छ ।

लगानीकर्ताहरुले लाभांश प्रस्तावको सूचनालाई एक आधार मानेर पनि लगानीको निर्णय लिने भएकोले पछिल्लो समय कतिपय कम्पनीको चलखेल, अपरिपक्वता र लापरबाहीले आफूहरुको धेरै रकम डूबेको पीडित बताउँछन् ।

सूचिकृत कम्पनीहरुले लाभांश तथा हकप्रदसम्बन्धी सूचनामा गर्ने गरेको चलखेल मिडियामा आएपछि मात्र प्रष्टीकरणका लागि भन्दै नेप्सेको सूचिकरण शाखाले कारोबार रोक्ने र स्पष्टीकरण सोध्ने काम गर्छ । अनि भोलि वा पर्सिपल्टै सामान्य चेतावनीका साथ कारोबार फुकुवा हुन्छ । 

कम्पनीको सामान्य प्रष्टीकरणमै ऊबाट भएका चलखेललाई किन माफी दिइन्छ ? कठोर कारबाहीको तदारुकता नभएर हो या कानून नै कमजोर भएर यस्तो भइरहेको हो ? कि सूचीकृत कम्पनीहरुले कमजोर कानूनको मौकाको फाइदा उठाइरहेका हुन् ? अहिले सबैको मनमा यही प्रश्नले डेरा जमाइरहेको छ । 

नेप्सेको एक्सन समेत कम्पनी अनुसार फरक फरक हुने गरेको पाइन्छ । मञ्जुश्री फाइनान्सको बदमासीलाई नेप्सेले आवश्यक कारवाहीका लागि नेपाल धितोपत्र बोर्डसम्मै फाइल पुर्यायो । तर, बोर्डमा फाइल गएको हप्तौ बितिसक्दा समेत सो विषयमा कुनै ठोस निर्णय हुन सकेको छैन । कतिपयले मञ्जुश्रीको बोर्डमा पुगेको फाइलमा बोर्डबाटै चलखेल भएको आशंका समेत गरेका छन् ।

मञ्जुश्रीको फाइल बोर्डसम्म पुर्याएको नेप्सेले त्यो भन्दा गम्भीर प्रकृतिको चलखेल भएका अन्य कम्पनीलाई भने सामान्य प्रष्टीकरणमै उन्मुक्ति दिइरहेको छ । यो विषयमा समेत कतिपयले आशंका नै व्यक्त गरिरहेका छन् । 

आखिर पछिल्लो समय यस्तो प्रवृति किन बाक्लिँदैछ । पहिला सुन्ने मात्र गरिएको सूचनाको दुरुपयोग र भित्री कारोबार सबैले थाहा हुने गरी भइरहँदा समेत नियामक किन लुते प्रवृतिमा सीमित छन् । हामीले यो विषयमा बजारका सरोकारवाला र तालूकदारलाई बुझ्ने प्रयास गरेका छौं ।

............................................................

मनोहरकृष्ण श्रेष्ठ-सेयर विज्ञ
यसमा नियामक नै पूूर्ण दोषी देखिन्छन् । लगानीकर्ताले व्योहोर्नुपरेको क्षतिपूर्तिका लागि नियामक तयार रहनुपर्छ । अर्कोतर्फ नेप्सेले आफ्नो वेबसाइटमा मूल्य संवेदनशीलता सम्बन्धी गलत सूचनालाई किन राख्नुपर्ने ? कारोबार रोक्का गरेर क्षतिपूर्ति नेप्से र सेबोनले दिनुपर्छ । यसमा लगानीकर्ता संघका नेताहरुको मौनता किन ? अधिकार पनि हरण भएको छ र अर्कातर्फ सही सूचना पनि हरण भएर लगानीकर्ता पीडित हुनुपर्ने बाध्यता रहेको छ ।

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएसन
नियामकबाट स्वीकृत नभई सूचना आउनुमा सम्बन्धित कम्पनीको दोष देख्दछु । यसरी आउने परिपाटी नै गलत भयो । यो परिपाटीलाई अन्त गर्न ल्याउन नपाउने कडा कानून आवश्यक छ । स्वीकृत भइसकेपछि पब्लिकले शतप्रतिशत  मान्ने गरी आउनु पर्छ ।

पूजन ढुंगेल(प्रवक्ता)-बीमा समिति
कम्पनीहरुले वित्तीय प्रतिवेदनमा गर्ने कमजोरी अर्थात् बीमा समितिको फम्र्याटमा बनाए पनि कतिपय अवस्थामा रकमहरु बाँडफाँडमा भएको कैफियतका कारण पनि यस किसिमका समस्याहरु आएका हुन् । एलआइसीएनको केसमा उसले रिजर्भ नराखी गरेका कारणले लाभांश अस्वीकृत हुन गएको हो । अब चेक एण्ड ब्यालेन्स प्रणालीमा वित्तीय प्रतिवेदन बनाउनुपर्ने र यसतर्फ सम्बन्धित कम्पनी चनाखो हुनपर्ने देखिन्छ । बीमा समिति स्वयम्ले समेत चनाखो बन्दै नियमित मनिटरिङ गर्न जोड दिनुपर्ने आवश्यकता छ ।

दीपेन्द्र अग्रवाल(वरिष्ठ उपाध्यक्ष)-सेयर लगानीकर्ता दबाब समूह
व्यवस्थापन, बोर्ड र नियमन निकाय नै मुख्य दोषी हुन् । मिलेमतो गरेर बढी नाफा देखाउने, अडिटमा कम देखाउने किनकि राम्रो कार्यसम्पादन देखाउने बोर्डको कुचलनले गर्दा पनि यो क्रम बढिरहेको छ । अझ भित्री कुरा भन्नुपर्दा बोर्ड व्यवस्थापनबाट अर्काको नाममा चलखेल गर्ने चलन विद्यमान समस्या हो । यत्रो दिनसम्म पनि नियामकले कुनै गतिलो एक्सन लिन नसक्नूले पनि यस्ता घटनामा उनीहरुको चलखेल प्रमाणित हुन्छ । पीडित लगानीकर्तालाई क्षतिपूर्ति अब कसले दिने ? लगानीकर्तालाई परेको पीरमर्कालाई बोर्ड वा व्यवस्थापनबाट नै हर्जाना असूलउपर गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

दिलीप मुंनकर्मी-सेयर बजार जानकार

सूचीकृत कम्पनीहरूले प्रकाशित गर्ने सूचनाहरूको शुद्धता कायम गर्ने पहिलो जिम्मेवार सम्बन्धित कम्पनीका जिम्मेवार अधिकारी पदाधिकारी नै हुन् ।त्यसको सुपरिवेक्षेण र नियमन गर्ने दायित्व भने सूचीकरण गर्ने नेप्से र नियमन गर्ने धितोपत्र बोर्डको हो । लगानीकर्ताको हितसँग सम्बन्धित सूचनाको सवालमा नियमनकारी निकाय धितोपत्र बोर्ड बढी जिम्मेवारी हुन्छ । उसले तोकिएको सूचना तोकिएको ढाँचामा प्रकाशित भयो वा भएन मात्र होईन, सोको कार्यान्वयनमा समेत चनाखो हुनुपर्छ । 

यस्तै, सार्वजनिक जानकारीमा ल्याईएका सूचनाकमे शुद्धता र यथार्थता कायम गराउने तथा त्यसबाट कसैले व्यक्तिगत वा समुहगत लाभ लिन नदिने र नलिएको सुनिश्चित गर्ने काम पनि बोर्डको हो । 

यदि सार्वजनिक सूचनाबाट वा त्यसको कार्यान्वयन हुँदा वा नहुँदा अममलगानीकर्तामा पर्ने वा पर्नसक्ने हानीबाट जोगाउने कर्तव्य पनि बोर्डकै हुनेछ । तथा तथ्यांक गल यस्ता विषयमा सेयर लगानीकर्ताहरुको हित गर्ने मूख्य जिम्मेवारी पाएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड नै मुख्य दोषी रहेको छ । 

हाल लाभांश, हकप्रद मात्र होईन त्रैमासिक वित्तीय विवरणहरूसमेत अविश्वसनीय हुनुको मुख्य कारण कम्पनीहरूको लगानीकर्ताप्रतिको बेपरवाह र गैरजिम्मेवारी हो । नेप्से र बोर्डले समेत सूचनाको शुद्धता र लगानीकर्चाको हितका सवालमा संवेदनशील नहुँदा कम्पनीहरूको लापरवाही बढेको हो । नेप्से र बोर्डले कम्पनीहरूको सूचना अधिकृत वा तोकिएका पदाधिकारी वा अधिकारीलाई व्यक्तिगत जिम्मेवारी बनाउने र राम्ररी नियमन गर्ने हो भने धेरै समस्या कम हुनेछ । 

लगानीकर्ताहरूले पनि कम्पनीका सूचनाहरूको विश्लेषण र यथार्थता परिक्षण गर्नुका साथै प्रकाशित सूचनाको कार्यान्वयन हुँदा वा नहुँदा आफूलाई पुगेको हानी सम्बन्धमा सम्बन्धित निकायमा उजुरी गर्ने बानी बसाल्नु पर्छ । कम्पनीहरूलाई सुधार्ने जिम्मेवार बनाउने दायित्व शेयरधनी स्वयंको पनि रहन्छ ।

दीपक दाहाल-लगानीकर्ता
पहिलो गलत सञ्चालक समितिले अडान लिन नसक्नु नै हो । अर्कातर्फ नियामकको अहम् पनि हो । नेप्से त लाटाले जस्तो भित्तामा टाल्ने काम मात्र गर्छ । अब सञ्चालक क्लियर हुनपर्यो र अडान लिन सक्ने खूबी बनाउनु पर्छ । बरु सञ्चालक समितिले पारित गर्ने लाभांश सम्बन्धी बैठकमा नियामकको प्रतिनिधि समेतको उपस्थिति अर्को समाधान हुनसक्छ । 

केशव कोइराला-लगानीकर्ता
दोषी धितोपत्र बोर्ड र नेप्से हुन् । कम्पनीले नियामक समक्ष हकप्रद र बोनसको निवेदन दिने, नियामक निकायबाट स्वीकृति पाएपछि मात्रै सम्बन्धित कम्पनीले सूचना जारी गर्ने र नेप्सेको सूचना पाटीमा प्रबिष्ट गरिनुपर्छ ।

..................................................................

यसरी मूल्य संववेदनशीलतालाई प्रत्यक्ष असर पार्र्ने र सेयरको मूल्य उत्तारचढावलाई अनियन्त्रित बनाउने यस किसिमको निरन्तरताको क्रमभगंता हुन जरुरी देखिन्छ । आम लगानीकताहरुलाई नेप्सेमा सूचीकृत कम्पनीहरुका सूचनामा समान हकअधिकार हुनुपर्छ । 

हिजोका दिनमा इमेल इन्टरनेटको रिक्ततामा नेप्सेका कर्मचारीहरुले यस्ता सूचनाहरुमा दरै चलखेल गर्ने र हप्तौंसम्म सूचना लुकाउने प्रवृत्ति पनि रहेको थियो । यसबाट पूँजीबजारमा विश्वास र पारदर्शितामाथि नै गम्भीर खेलबाड भएको देखिन्छ । उसो त कम्पनीका सञ्चालकहरु नै दोस्रो बजारमा खेलाडी भएकै कारणले समेत कम्पनीका गोप्य सूचना चुहावट हुने गरेका छन् ।

यसअर्थमा सूचीकृत कम्पनीहरुका संस्थागत सुशासनलाई बढावा दिन नसक्नुमा नियामक धितोपत्र बोर्ड र नेप्से समेतको अदूरदर्शिता र लाचारीपन देखिन्छ । 

अहिले नेपालको सेयर बजारमा सबैभन्दा खड्किएको नै विश्वासको वातावरण र अपारदर्शिता हो । यस्ता प्रवृतिकै कारण अन्तर्राष्ट्रिय स्तरको बजारमा उभिन लाजमर्दो अवस्था त छदै छ नै अर्कातर्फ अर्थतन्त्रको आधारस्तम्भ मानिने सेयर बजार दलदलमा फसिरहेको देखिन्छ । यसले गर्दा अर्थतन्त्रमा समेत कस्तो किसिमको धक्का पुग्नसक्छ भन्ने विषयमा आजदेखि नै विचारमन्थन गर्न जरुरी छ ।